प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्थ्यो : बामदेव गौतम



काठमाडौं पुस २३ ।

राष्ट्रियसभा सदस्य एवम् नेकपा नेता बामदेव गौतमले फेरि एकता गराउन सकिन्छ कि भनेर एक्लै लागिरहेको बताएका छन् ।

बिहिबार राष्ट्रियसभा बैठकमा बोल्दै गौतमले ३ वर्षमै पार्टी विभाजन गर्नु थियो भने किन एकता गरेको भन्दै प्रश्न समेत गरेका हुन् ।

उनले पार्टी दुई खेमामा रहेपनि आफू कुनै समूहमा नरहेको जिकिर गर्दै गौतमले पार्टी विभाजनको औचित्य नदेखेको बताएका छन् । दुवै पक्षमा गल्ती कमजोरी देखेको उनले बताए । उनले पार्टीमा एकता आवश्यक रहेको बताउदैं दुबै पक्षका मुख्य नेताहरु आफूलाई समाजवादी व्यवस्था ल्याउन लागि परेको भन्ने तर लाज लाग्ने अभिव्यक्ति दिँदै हिडेको उल्लेख गरे ।

गौतमले अविश्वास प्रस्ताव आउँदै छ भन्ने थाहा भएपछि प्रधानमन्त्रीले राजीनामा नदिएर पार्टी एकता जोगाउने अन्तिम अवसर गुमाएको पनि बताए । पार्टीबाट अविश्वासको प्रस्ताव लगिँदैछ भन्ने थाहा पाएपछि प्रधानमन्त्रीले राजीनामा दिएको भए पार्टी एकता जोगिने उनको तर्क छ ।

राष्ट्रिय सभाको सातौं अधिवेशन बैठकमा बोल्दै गौतमले प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा विघटन गर्दा आफूलाई कुनै जानकारी नदिएको पनि गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्