नागरिक अगुवाहरुले भने: ‘प्रधानमन्त्रीको हठका कारण राजनीतिक संकट निम्तियो’



काठमाडौं पुस २३ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चालेको भन्दै ओलीको पतन निश्चित भएको नागरिक अगुवाहरुले बताएका छन्।

बिहीबार काठमाडौंमा भएको अन्तरक्रियामा बुद्धिजीजीहरुले सरकारको कदमको विरोध गर्दै जनतामा जान सुझाव दिएका छन् । यस्तै, जनतामा जाँदा आफ्ना कमिकमजोरीहरु र प्रतिवद्धताहरु खुलस्त रुपमा राख्न पनि सुझाव दिएका छन् ।

कार्यक्रममा मानव अधिकारकर्मी कृष्ण पहाडीले विगतमा भएका सैद्धान्तिक र नीतिगत भूलको समिक्षा गरी गल्ती नदोहोर्याउने प्रतिवद्धता जनाएर मात्रै आन्दोलनमा जान सुझाव दिए । गलत कदम चाल्ने प्रधानमन्त्री ओलीको पतन निश्चित भएको पनि बताए।

कार्यक्रममा वरिष्ठ अधिवक्ता हरि दाहालले असंवैधानिक कदमको विरुद्धमा सबै दल एक भएर आन्दोलनका कार्यक्रम गर्न सुझाव दिए । मानव अधिकारकर्मी मोहना अनसारीले स्वतन्त्र रुपमा नागरिकले बाँच्न पाउने अधिकार विस्तारै कुण्ठित हुने अवस्था आउन लागेको बताइन् । अहिलेको विकसित राजनीतिक घटनाक्रमले संवैधानिक संकटतर्फ देशलाई धकेलिरहेको बताइन् ।

अर्थविद् दिपेन्द्रबहादुर क्षेत्रीले संसदले काम नगरे राजीनामा दिने ठाउँमा प्रधानमन्त्रीले आफ्नो नैतिकता देखाउन नसकेको बताए। पूर्व सभामुख दमननाथ ढुंगानाले राजनीतिक संकट आउँदा मात्रै विज्ञहरुलाई संझिएको भन्दै राजनीतिक दलहरुको प्रवृति माथि प्रश्न गरे । पूर्व मुख्यसचिव लिलामणि पौडेलले मुलुक अस्थिरतातर्फ र संवैधानिक संकटतर्फ जाने खतरा बढेको बताए । राजनीतिक दलहरुले सरकारमा बसेको बेला पारदर्शी ढंगले सरकार सञ्चालन गर्छन वा गर्दैनन भन्ने कुरालाई हेरेर अवको दिनमा हुने आन्दोलनमा जनताले साथ दिने वा नदिने निर्धारण गर्ने बताए।

प्रतिक्रिया दिनुहोस्