राष्ट्रिय सभा सांसद प्रतिनिधि सभा विघटनको पक्ष विपक्षमा



काठमाडौं पुस २४।
राष्ट्रिय सभाको शुक्रबारको बैठकमा पनि सदस्यहरू प्रतिनिधि सभा विघटनको पक्ष र विपक्षमा बाँडिएका छन् ।
बैठकमा दाहाल–नेपाल समूहका नेता नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको कदमलाई सदर गरे संविधान कागजको खोस्टोमा परिणत हुने बताउनुएका छन् । नेता श्रेष्ठले संविधानमा हुँदै नभएको प्रावधान प्रयोग गरेर संसद भङ्ग गरिएको भन्दै अदालतले त्यसलाई अनुमोदन गरे संविधान संशोधन सरह हुने बताउनुभयो । संसद् विघटनको कदमले समग्र प्रतिगमनको आधार तयार गरेको नेता श्रेष्ठको भनाइ रहेको छ ।

सांसद देवेन्द्र दाहालले प्रतिनिधि सभा विघटन गरी नयाँ चुनाव मिति घोषणा गर्नु प्रतिपक्षीको लागि राम्रो हुने बताउनुभयो । प्रमुख प्रतिपक्षी लगायतले जनतामा जान खुट्टा कमाएको उहाँको भनाइ छ । संवैधानिक इजलासमा गएपछि यो विषय संवैधानिक भएको उहाँले टिप्पणी गर्नुभयो ।

सांसद दिलकुमारी रावल थापाले सरकारलाई पार्टी भित्र, संसदीय दल, संसदीय समितिहरुबाटै रोक्ने प्रयास भएको बताइन् । पार्टी अध्यक्ष र प्रधानमन्त्रीलाई अभियोगपत्र दर्ता गराउनु लगायतको कामले यस्तो अवस्था आएको उहाँको तर्क छ । सांसद कोमल वलीले राज्यका सबै अंगहरुमाथि अनावश्यक शंका गरिएको बताउनुभयो । सरकार, संसद, अदालत, निर्वाचन आयोगमाथि शंका गर्नेहरूले नै सरकारलाई सर्वसत्तावादी भनेको उहाँले भनाइ थियो । सांसद ओलीले संविधानको व्याख्या गर्ने जिम्मा अदालतलाई दिएकाले अदालतको निर्णय स्वीकार गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्