दोलखाको कार्यक्रममा ‘आज जे देखेँ, यस्तो देखेँ…!’



राजेन्द्र मानन्धर
कार्यक्रमको प्रारम्भदेखि अन्त्यसम्म सबै कुर्चीहरु भरिएका थिए । अधिकांश कुर्चीहरुले कार्यक्रम अवधिमा कुनै नयाँ मान्छे बसाउन पाएन । एउटै व्यक्तिले कुर्ची ओगटेर हलचल नगरी नेताहरुका मन्तव्य श्रवण गरिरहे ।

अनुशासित र प्रतिवद्ध कार्यकर्ताको पंक्ति धेरैपछि नेपाल कम्युनिष्ट पार्टी नेकपा दोलखाको कार्यक्रममा देख्न पाइयो । यस्तो दृष्य एक दशकअघिसम्म नेकपा एमालेका प्रशिक्षणहरुमा देखिन्थे । तीन/चार घण्टा एउटै कुर्चीमा बसेर प्रशिक्षित भइरहने कार्यकर्ताहरु एमालेसँग थिए । अनुशासनलाई शीरमा राख्दै सांगठनिक पद्धतिलाई मनभित्र साँचेर हिँड्ने लडाकुहरु थिए । नैतिकताको पंक्तिहरुभित्र एमाले भएर हिँड्दा गर्व लाग्थ्यो ।

पूर्वएमाले र पूर्वएमाओवादी एकीकरणपछिका दिनहरु भने नैतिकता हराउँदै गएको, अनुशासन गुमाउँदै गएको, छवि धुमिलिँदै गएको कम्युनिष्टभित्रको कम्युनिष्टहरु बढ्दै गए । पार्टी हो कि कुस्ती खेल्ने मैदान जस्तो हुँदै गयो । अनुशासन, नैतिकता र कर्तव्यपरायणता शब्दकोषबाटै हराउँदै गएको जस्तो हुँदै गयो । न घर भएको, न थर भएको, न सदस्य विवरण नै भएको बतासे पार्टी जस्तो हुँदै गयो ।

तर आज दोलखाका कुनाकाप्चाबाट आएका दोलखा कम्युनिष्टका अगुवाहरुले चट्टानजस्तै हलचल नगरी तीन घण्टा बिताए । नेताका भाषणहरु केलाइकेलाइ पिए । संसद विघठन किन भयो र किन चुनाव अपरिहार्य छ भनेर मनको क्यामेराले खिचे । वर्तमान राजनीतिक परिदृष्यभित्रका खराब पात्रहरुलाई कालोसूचीमा सूचिकृत गरे ।

हलभित्र र आँगनमा नअटेपछि अझ सडकसम्म पार्टी विभाजनको व्यग्रताले जलेका मनहरु थिए भन्न सकिन्छ । अन्योलतातर्फ धकेलिएको राजनीतिक भविष्यको सुनिश्चितता खोज्नेहरुको जमात नै थिए भनेर अनुमान लगाउन सकिन्छ । बाटो बिराएको यात्रीजस्तो अलमलपूर्ण अवस्थाबाट सुन्दर र चिल्ला मार्गहरु प्रशस्त गर्न उपस्थित थिए भनेर लख काट्न सकिन्छ ।

कार्यक्रममा आएका कार्यकर्ताहरूलाई नेताहरुले पार्टी विग्रहले जलेका मनमा मलम लगाएर फर्काउन सके वा सकेनन प्रतिक्रिया आउन बाँकी नै छ । तर, गाउँबस्तीबाट आएका कम्युनिष्ट अगुवाहरु भने दोलखामा फेरि पनि कम्युनिष्टको झन्डा फहराउने वाचा गर्दै फर्किएका छन् । दोलखा जिल्ला लालकिल्ला भन्ने नारालाई घन्काइरहने प्रतिबद्धता बोकेर फर्किएका छन् ।

पार्टी जति टुक्रामा विभाजन भए पनि मूलघर मुलमझेरी नछाड्ने कसम खाँदै हिँडेका छन् । एक जमानादेखि वर्तमान जमानामा बाटो बिराएकाहरु पनि एकै ठाउँमा उभिएर सूर्यको झन्डा उठाइरहने कटिबद्ध हुँदै गाउँबस्ती छिरेका छन् । बाँकी क्रमश…

लेखक सञ्‍चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङका प्रेस विज्ञ हुन् ।

प्रतिक्रिया दिनुहोस्