विरोधी हँसाउने लडाइँ बन्द गर्नुहोस् : वामदेव गौतम



काठमाडौं पुस २५ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले आन्तरिक लडाइँ बन्द गरी एकता अभियानमा जोडिन आह्वान गरेका छन् ।

पार्टीमा आएको फुटपछि आफू कुनै पनि समूहमा नरहेको बताउँदै आएका नेता गौतमले नेपाल कम्युनिष्ट पार्टी नेकपा एकता राष्ट्रिय अभियानको संयोजक भन्दै पार्टी सदस्य, समर्थक तथा शुभ चिन्तकहरुलाई अभियानमा जोडिन आग्रह गरेका हुन् ।

एक वक्तव्य जारी गर्दै गौतमले पार्टीभित्र उत्पन्न समस्या पार्टीभित्रै समाधान गर्न नसकेर सिङ्गो राष्ट्रलाई प्रभावित गर्ने संस्था प्रतिनिधि सभालाई दुरुपयोग गर्नेसम्मका घटना हुनु राष्ट्रकै निम्ति अत्यन्तै पीडादायी भएको पनि बताएका हुन् ।

उनले देश र विदेशका कम्युनिष्ट विरोधीहरूलाई हँसाउँदै सुरू भएको लडाइँ बन्द गर्न र एकतामा फर्कन आग्रह गर्दै पार्टी विभाजनउन्मुख हुन नेताहरूको अयोग्यता कारक भएको पनि उल्लेख गरेका छन्।

पार्टीभित्रको विवाद चुलिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद् विघटन गरी आउँदो वैशाखमा चुनाव घोषणा गरेका छन्। लगत्तै अध्यक्ष ओलीको पक्षमा एक समूह र कार्यकारी अध्यक्ष प्रचण्डको पक्षमा अर्को समूह गरी नेकपा दुई समूहमा विभक्त भएको छ । यो विभाजनले औपचारिकता भने पाइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्