३ सय ३० प्रदेशसभा क्षेत्रमा कांग्रेसको आमसभा, ओलीले लोकतन्त्र मास्ने नियत राखेको आरोप



काठमाडौं पुस २५ ।

प्रतिनिधिसभा विघटनको विरुद्धमा नेपाली कांग्रेसले शनिवार देशका ३ सय ३० वटा प्रदेशसभा क्षेत्रमा प्रदर्शन र आमसभा गरेको छ ।

दोस्रो चरणको आन्दोलनका कार्यक्रम अन्तरगत कांग्रेसले शनिवार ३ सय ३० वटा निर्वाचन क्षेत्रमा प्रदर्शन र आमसभा गरेको हो । देशका विभिन्न ठाउँमा भएका आमसभालाई सम्बोधन गर्दै कांग्रेसका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विरोधी काम गरेको र लोकतन्त्र मास्ने नियत राखेको आरोप लगाएका छन् ।

नागरिकले वर्षौं लामो त्याग र बलिदान दिएर बनाएको संविधान मिचेर प्रधानमन्त्री ओलीले आफूलाई निरंकुश तानाशाह बनाएको नेताहरुको आरोप छ । काठमाण्डौको बुढानिलकण्ठमा भएको आमसभामा सभापति शेरबहादुर देउवाले ओलीले संसद विघटन गरेर संविधान र प्रजातन्त्र विरोधी काम गरेको आरोप लगाए। संविधान विघटनको विषय सर्वोच्चमा विचाराधिन अवस्थामा रहेकाले यो विषयमा धेरै बोल्न नहुने उनको भनाइ छ ।

यदि अदालतले संसद विघटनलाई सदर गरेर चुनाव हुने भएमा कांग्रेस चुनावको लागि तयार रहेको पनि देउवाको भनाइ छ । यस्तै काठमाण्डौकै भृकुटीमण्डपमा भएको सभामा प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री ओली नसच्चिए पूर्व राजा ज्ञानेन्द्र जस्तै पतन भएर जाने चेतावनी दिए।

ज्ञानेन्द्रमा जस्तै ओलीमा पनि निरंकुश बन्ने सपना पलाएको तर नागरिकले ओलीका सपनालाई ध्वस्त बनाइदिने प्रवक्ता शर्माको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्