क्लिन फिडका कारणले नेपालको विज्ञापन व्यवसाय फस्टाउंछ : सञ्चारमन्त्री गुरुङ



काठमाडौं पुस २५ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले विज्ञापन संघले आर्थिक लाभलाई मात्र प्राथमिकता नदिएर विज्ञापनले समाज तथा बालबालिकामा परिरहेको प्रभावका बारेमा अध्ययन तथा अनुसन्धान गर्नुपर्ने बताएका छन्।

नेपाल विज्ञापन संघ आनको २१ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री गुरुङले विज्ञापनले समाज, उपभोक्ता र विशेषगरी बालबालिकामा पर्ने असरप्रति विज्ञापन संघ जिम्मेवार हुनुपर्ने पनि बताए। यस्तै सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यप्रति जवाफदेही तथा जिम्मेदार भएमा मात्र समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय दृष्टिकोणलाई पूरा गर्न सकिने मन्त्री गुरुङको भनाइ छ।

समृद्धिको बाटोमा जान सरकार र विज्ञापन संघबीच साझेदारी गर्न आफू तयार रहेको मन्त्री गुरुङले बताए । यस्तै उक्त कार्यक्रममा मिडिया अलायन्सका अध्यक्ष भाष्कर राजकिर्णकारले कोरोनाकाल संचार जगत, विज्ञापन व्यवसायका साथै सबैका लागि चुनौतीपूण तथा आर्थिक रुपमा जटिल घडीमा उभिएको बताए।

तर उनले यसैबीच नीतिगत रुपमा लागु भएको क्लिन फिड सम्भावनाको माध्यम बनेर आएको बताए। क्लिन फिडका कारणले नेपालको विज्ञापन व्यवसाय फस्टाउने उनले बताए। यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सोही कार्यक्रममा बोल्दै क्लिन फिड लागु भएपछि यसबाट बढीभन्दा बढी ‘रेभिन्यू’ बढ्ने आफूहरुले आशा लिएको बताए।

यसले विज्ञापन व्यवसायलाई अझ बढी विस्तार गर्नेपनि विश्वास लिएको उनले बताए। तर यससँगै चुनौती पनि रहेको उनले बताए। उनले आगामी बाटो तय गर्न सरकारसँग छिट्टै विज्ञापन नीति ल्याउन आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्