संघीय सांसद र उपसभामुख तामाङद्वारा भट्टार कार्कीडाँडा छ्योइलिङ गुम्बाको भवन शिलान्यास



नुवाकोट पुस २५ । नुवाकोटको शिवपुरी गाउँपालिका-५ मा भट्टार कार्कीडाँडा छ्योइलिङ गुम्बाको भवन शिलान्यास गरिएको छ ।

शुक्रबार आयोजित एक कार्यक्रमबीच प्रमुख अतिथि पूर्वमन्त्री एवं विघटित संघीय सांसद हितबहादुर तामाङ र विशिष्ट अतिथि वाग्मती प्रदेशकी उपसभामुख राधिका तामाङले छ्योइलिङ गुम्बाको भवन शिलान्यास गरेकी हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै सांसद तामाङले प्रधानमन्त्री केपी ओलीले संविधानमै नभएको व्यवस्था प्रयोगको बहानाबाजी गरी प्रतिनिधिसभा विघटन गरेको भनिए पनि आफ्नो पार्टीलगायतले अस्वीकार गरेको बताए । ‘हामी सांसदहरु जीवित नै छौं, हाम्रो संस्था (प्रतिनिधिसभा) जीवित छ । राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा समेत जानकारी दिने, ध्यानाकर्षण गराउने हिसाबले हामी सडकमा पनि सहभागी भएका थियौं,’ सांसद तामाङले भने, ‘त्यस्तै पर्‍यो भने नेपाली कांग्रेस र जनता समाजवादी पार्टी लगायतका संसद्‌मा जतिपनि सहभागी छौं हामी सबैले एउटै कार्यक्रममा, एउटै मञ्चमार्फत एउटै भाषा बोल्नुपर्ने, सबैले हातेमालो गर्नु पर्ने खालको दिन पनि आउन सक्ने छ ।’

वाग्मती प्रदेशकी उपसभामुख राधिका तामाङले नेपाललाई बुद्ध जन्मेको देशको रुपमा चिनाउने हो भने नीतिगत हिसाबले प्रस्ट पार्नु पर्नेमा जोड दिइन् । यो विषयमा केन्द्रीय सरकारबाट गम्भीरताका साथ लिइएन भने जतिसुकै भाषणमा भनिए पनि व्यवहारत नपाउने उनको भनाइ थियो ।

शिवपुरी गाउँपालिका अध्यक्ष रामकृष्ण थापाले दुई तिहाइ प्राप्त नेकपा नेतृत्वको सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले ७० वर्षको लडेर ल्याएको संविधान कु गरिदिएको टिप्पणी गरे । संसद् विघटनका कारण देशको भविष्य अनिश्चितता तर्फ धकेलिएको भन्दै उनले यो विषय सर्वोच्च अदालतमा विचाराधिन रहेको स्मरण गराए । ‘नेकपालाई दुई तिहाई मत दिइ पठाएर जुन आशा गरेको थियो उल्टो अहिले अन्तरकलहले देशमा संकट निम्त्याइदियो’ उनले भने ।

नेकपा शिवपुरीका अध्यक्ष वीरबहादुर लामाले गुम्बा निर्माणमा बजेट विनियोजनका लागि केन्द्रीय सांसद् र प्रदेश सांसदले खेलेको भूमिकाको प्रशंसा गरे । उनले शिवपुरीमा यसपटक बौद्धमात्रै नभई हिन्दू धर्मावलम्बीका तीर्थस्थलको विकासका लागि पनि बजेट विनियोजन भएको उल्लेख गरे ।

तामाङ सहायता समाज (ल्होज्याङ) का अध्यक्ष योगेन्द्र रुम्बाले निर्माण हुने गुम्बालाई संरक्षण र प्रवर्द्धन गर्न सके धर्म विकासमात्रै नभई पर्यटक आगमन भई स्थानीयको आर्थिक जीवनस्तर उकास्नमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

गुम्बा निर्माणका लागि वाग्मती प्रदेश सरकारबाट १० लाख बजेट छुट्याइएको छ । २०६४ मा अन्तरिम विधायक हितबहादुर तामाङबाट ५० हजार, २०७० मा संविधानसभा सदस्य राधिका तामाङको पहलमा २ लाख बजेट छुट्याइए पनि २०७२ को शक्तिशाली भूकम्पका कारण निर्माण कार्य रोकिएको गुम्बाका प्रमुख लामा इन्द्रबहादुर लामाले जानकारी दिए ।

प्रमुख लामाले कार्की डाँडामा ३/४ पुस्तादेखि लामाहरु बसोबास गरे पनि गुम्बा थिएन र बौद्ध धर्म प्रवर्द्धनका लागि गुम्बा आवश्यक ठानेर गुरु (ससुरा) सँग सल्लाह गरेर गुम्बा विकास समितिमा २०५७ मा दर्ता गराइएको बताए ।

कार्यक्रममा नेकपा जिल्ला कमिटी सदस्य मिनबहादुर तामाङ, वडाअध्यक्षहरु सीताराम थापा, रेशम तामाङ, जिल्ला नेता सुकराम तामाङलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्