कम्युनिस्ट सरकारले लोकतन्त्र माथि नाङ्गो हस्तक्षेप गर्यो: काङ्ग्रेस नेता अर्जुननरसिंह केसी



हेटौंडा,पुष २६ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले कम्युनिष्ट सरकारले लोकतन्त्रमाथि नाङ्गो हस्तक्षेप गरेको भन्दै अब कांग्रेसले त्यसकोविरुद्ध जस्तोसुकै मूल्य चुकाउन तयार रहेको बताएका छन् । नेपाली कांग्रेसले शनिबार सरकारविरुद्ध देशभरका ३ सय ३० वटै प्रदेश निर्वाचन क्षेत्रमा सरकारविरुद्ध गरेको प्रदर्शन तथा सभाअन्तर्गत मकवानपुर क्षेत्र नम्बर १ (ख) को हेटौंडामा भएको विरोध सभामा बोल्दै केसीले कांग्रेस ताजा जनादेशमा जान नडराउने तर, संविधानरिुद्ध भएको ठाडो हस्तक्षेप भने सहेर नबस्ने बताएका हुन् ।

‘धतुरोको बोट रोपेर सुन्तला खान पाइँदैन । कम्युनिष्टको बोट रोपेर लोकतन्त्र बच्दैन भन्ने उदाहरण प्रस्तुत भएको छ । यत्रो झण्डै बहुमत प्राप्त सरकार अहिले प्रहसनको पात्र भइराखेको छ ।’ केसीले भने ‘कहिले बिरालाको उखान दिएर कहिले लाटोकोसेरोको उखान दिएर कहिले गधाका उखान दिएर दुनियाँलाई हसाउने शिवाय कुनै काम भएन । लाखौं जनता भोकमरी, बेरोजगारीबाट पिल्सिएका छन् । महङ्गीको मारमा छन् ।’ निरकुंशताको सोच बोकेर लोकतान्त्रिक शासन पद्धती फस्टाउन नसक्ने भन्दै केसीले भ्रष्टाचार र मनपरीतन्त्रको विरुद्धमा जस्तोसुकै कदम चाल्न कांग्रेस तयार रहेको बताए । ‘कांग्रेस कांग्रेस पार्टी मात्र होइन । नेपालको परिवर्तनको सम्वाहक हो । आवश्यकता परे नेपाली कांग्रेस ताजा जनादेशमा जान डराउँदैन । तर, मुलुकको मुल कानुनलाई क्षतविच्छेद गर्दै नाङ्गो रुपबाट हस्तक्षेप गरेर लोकतन्त्र बच्दैन भनेर आन्दोलनमा होमिएको हो ।’ उनले भने । १९०३ भदौ ३१ गते जंगबहादुरले महारानी राज्यलक्ष्मीको आडमा कोतपर्व मच्चाएको स्मरण गर्दै केसीले २०१७ सालमा राजाले संविधानकै एउटा धारा दुरुपयोग गरेर संसदलाई विघटन गरे जसरी अहिले त्यही यात्रामा ओली सरकार अघि बढेको आरोप लगाए । ‘अहिले निर्वाचन पनि हुन नसक्ने संसद पनि पुनस्र्थापन हुन नसक्ने अवस्था आयो भने यो मुलुक ठूलो अन्धकारको सुरुङभित्र प्रेश गर्छ । अनेक किसिमका दक्षिणपन्थीदेखि बापन्थी उग्रवादीहरु सल्बलाउनेछन् । देशमा अराजकता, अन्यौलको स्थिति सिर्जना हुनसक्छ । यस्तो अवस्थालाई नियन्त्रण र नेतृत्व गरी सबैलाई संयोजन गरी अघि बढ्ने तागत नेपाली कांग्रेसमा रहेको छ ।’ केसीले भने ।

सिंह दरबारलाई गाउँगाउँमा पुर्याउने भन्ने सोचका साथ संघीयता ल्याइएकोमा त्यसको विरुद्ध गाउँगाउँमा भ्रष्टाचार मौलाएको केसीको भनाइ छ । यो कुराको ट्रान्सपरेन्सी इन्टरनेशननलको तथ्यांकले देखाइसकेको उनले बताए । ‘एक वर्षभित्र झण्डै २१ सय जना व्व्यक्तिहरु खान नपाएर मृत्यु भएको छ । झण्डै १९ सयभन्दा बढी सुत्केरी महिलाको अस्पतालमा बेड नपाएर मृत्यु भएको छ । निर्मला पन्तको न्याय माग्न पुगेकाहरुलाई धनगढीमा पक्राउ गरिएको छ ।’ केसीले भने–‘यसरी देशमा एकपछि अर्को गररे निरंकुशताको बाटोमा देश गएको छ । त्यो निरकुंशताबाट बचाउन कांग्रेसले पुनः अर्को आन्दोलन गर्नुपर्ने भएको छ ।’

कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँले कुनै पनि बहुमत प्राप्त दलले संसद भंग गर्ने अधिकार नेपालको संविधानले नदिएको भन्दै केपी ओलीले संविधानको भावनामाथि खेलवाड गरेको बताए ।

बैशाखमा निर्वाचन हुन नसकेमा स्वतः संसद पुनस्र्थापना हुनसक्ने गरी अदालतले फैसला गर्ने बानियाँले विश्वास व्यक्त गरे । ‘नेपाली कांग्रेसले स्तन्त्र न्यायपालिकालाई कुनै दबाब दिँदैन ।

स्वतन्त्र रुपमा न्यायपालिकाले काम गरोस् । संविधानले परिकल्पना नगरेको कुरातिर नजान आग्रह गर्न हामी सडकमा आएको हो ।’ बानियाँले भने । नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर १ ‘ख’ का सभापति तारानाथ चौलागाईको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका उपसभापति विष्णुप्रसाद लामिछाने, प्रमुख सल्लाहकार माइकल रामचन्द्र अर्याल, प्रवक्ता प्रदिप कोइराला, पार्टी सल्लाहकार एवम् नेपाल विद्यार्थी संघका महामन्त्री प्रभात दाहाल, प्रदेशसभा सदस्यका प्रत्यासी अशोक शाक्य, पार्टी हेटौंडा उपमहानगरपालिका सभापति आनन्दराम पराजुली, नेपाल महिला संघ मकवानपुरकी अध्यक्ष लक्ष्मी श्रेष्ठ, तामाङ संघ मकवानपुरका अध्यक्ष चम्फुरत्न लामालगायतले मन्तव्य व्यक्त गरेका थिए । हेटौंडाको फरेष्टी गेटअघिबाट निस्किएको विरोध जुलुस बुद्धचोकमा आइपुगेर कोणसभामा परिणत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्