पूर्वप्रधानन्यायाधीशहरुले विज्ञप्ति निकाल्नु अशोभनीय छ: काँग्रेस नेता खतिवडा



चितवन पुस २६ ।

नेपाली काँग्रेसका नेता रामहरि खतिवडाले अदालतमा विचाराधीन मुद्दालाई बाहिरबाट प्रभावित पार्ने गरी कसैले पनि काम गर्न नहुने बताएका छन्।
चितवनमा पत्रकारसँग कुरा गर्दै उनले सो कुरा बताएका हुन् । नेता खतिवडाले पूर्वप्रधानन्यायधीशहरुलेले विज्ञप्ति निकाल्नु अशोभनीय भएको बताए ।

पूर्वसांसद खतिवडाले प्रश्न गरे, ‘सम्मानित पूर्वप्रधानन्यायाधीशप्रति केही गुनासो छैन तर यो संयुक्त वक्तव्य जारी गर्ने बेला हो कि होइन र ?’ यसरी विज्ञप्ति निकाल्दा न्यायपालिकाको गरिमा र स्वतन्त्र न्यायसम्पादनमा अप्ठ्यारो पर्छ भन्नेतर्फ पनि सोच्न जरुरी रहेको बताए ।

नेता खतिवडाले काँग्रेस अहिलेको अवस्थामा सरकारमा जान नहुने बताए । उनले भने, ‘एउटा शक्तिलाई पाँच वर्ष सरकार चलाऊ भनेर जनताले पठाएकाले अहिले काँग्रेस सरकारमा जानु हुँदैन ।’ उनले काँग्रेस निर्वाचन जितेर मात्र सरकारमा जाने बताए ।

अहिले निर्वाचनको विकल्प नरहेको बताउँदै खतिवडाले प्रतिनिधिसभा पुनःबहाली भएमा सांसद किनबेच शुरु हुने बताए । उनले भने– ‘संसद् पुनःबहाली भयो भने संयुक्त सरकार हुन्छ । फेरि सांसद किनबेच शुरु हुन्छ । काँग्रेसको साथ नलिई कसैले सरकार बनाउन सक्दैन ।’

प्रतिक्रिया दिनुहोस्