निर्वाचनमा जान काङ्ग्रेस तयार



काठमाडौं, पुस २७। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अदालतले प्रतिनिधि सभा पुनस्र्थापना गरे प्रतिनिधि सभामा र नगरे निर्वाचनका लागि जनतामा जाने बताए ।

नेपाली काँग्रेसका संस्थापक मध्येका पार्टीका पूर्वमहामन्त्री सूर्यप्रसाद उपाध्यायका बारेमा प्रजातान्त्रिक विचार समाजले प्रकाशन गरेको पुस्तकको आइतबार राजधानीमा लोकार्पण गदैै सभापति देउवाले जनता नै आफूहरूको सबैभन्दा ठूलो अदालत भएकाले निर्वाचनमा जानसमेत आफूहरू तयार रहेको स्पष्ट पारे ।

उनले प्रतिनिधि सभाको मुद्दा अदालतमा विचाराधीन रहेकाले अदालतलाई प्रभावित पार्ने गतिविधि गर्न नहुनेमा जोड दिए । सभापति देउवाले २०३६ सालको जनमत सङ्ग्रहमा पनि पार्टीले भाग लिएको सन्दर्भ चर्चा गर्दै भने, “पञ्चायतमा गरिएको चुनावमा त भाग लिएको पार्टीले अहिले निर्वाचनमा भाग लिन्न भन्नै मिल्दैन, निर्वाचनमा सहभागी हुनैपर्छ ।”

पार्टीका देशभरका साथीहरूले निर्वाचनमा रुचि देखाएको सभापति देउवाले स्पष्ट पारे । काँग्रेसले स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि भने लड्नुपर्ने अवस्था आएको बताए । प्रतिनिधि सभा विघटनको कार्य असंवैधानिक रहेको उनले जिकिर गर्दै निर्वाचन स्वतन्त्र हुन्छ हुन्न भन्ने भय छ, निष्पक्ष निर्वाचन नेपाली काँग्रेसको अबको मूल कार्यसूची हो । बीपी कोइराला र सूर्यप्रसाद उपाध्याय दुवै भारतको स्वतन्त्रता आन्दोलनको काराबासमा समेत रहेको सन्दर्भ स्पष्ट गर्दै सभापति देउवाले पार्टीमा उपाध्यायले गरेको योगदानको स्मरणसमेत गरे ।

यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्