कुण्डला भूपू विद्यार्थी समाजद्वारा सुनील र ऋचालाई ‘एल्मुनाई एक्सेलेन्स अवार्ड’ प्रदान



नुवाकोट पुस २७ । नुवाकोटको पञ्‍चकन्या गाउँपालिका ५ भद्रुटारस्थित कुण्डला माध्यमिक विद्यालय अध्ययनरत विद्यार्थीमध्ये शैक्षिक सत्र २०७६को उत्कृष्ट छात्रा र छात्रलाई चौंथो Kundala Alumni Excellency Award प्रदान गरिएको छ ।

विद्यालयको ५८ औं वार्षिकोत्सवका अवसरमा आइतबार कुण्डला भूपू विद्यार्थी समाजले उत्कृष्ट विद्यार्थीहरुलाई उन्नति र प्रगतिको शुभकामनासहित अवार्ड प्रदान गरेको हो । कुण्डला भूपू विद्यार्थी समाजद्वारा स्थापित अक्षयकोषबाट आर्जित रकमबाट प्रत्येक वर्ष उत्कृष्ट विद्यार्थीलाई Excellency Award प्रदान गर्दै आइएको छ ।

कार्यक्रममा समाजका उपाध्यक्ष सुष्मिता पाठकले विद्यालयमा अध्ययनरत सुनील तामाङ र ऋचा खतिवडालाई अवार्डसहित शैक्षिक सामग्री प्रदान गरिन् । सोही अवसरमा समाजका सचिव कञ्चन थापाले विद्यालय स्थापनाकालमा महत्वपूर्ण सहयोग गर्ने स्व.चन्द्रबहादुर थापा र टुलकुमारी थापाको स्मृतिमा स्थापना गरेको पुरस्कार पनि ‘अल्मुनाइ’मार्फत प्रदान गरिएको छ । यस वर्ष सीता बञ्जारा र सुजन तामाङले सो पुरस्कार प्राप्त गरेका छन् ।

त्यसैगरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामेश्वर थापाले गाउँपालिकाबाट प्राप्त छात्रावृत्ति रकम विद्यालयका सबै छात्रा र दलित छात्रलाई प्रदान गरे । कुण्डलामा अध्ययन गरी विश्वभर रहेका पूर्वविद्यार्थीलाई कुण्डला माविको शैक्षिक सुधारमा सहयोग गर्न आह्वान गर्दै उपाध्यक्ष पाठकले आगामी दिनमा विद्यार्थी तथा विद्यालयको शैक्षिक सुधारका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । आफ्नो जन्मस्थानका बालबालिकाको उज्यालो भविष्यमा हातेमालो गर्नु सबै भूपू विद्यार्थीको कर्तव्य भएको उल्लेख गर्दै उनले अक्षय कोष स्थापनामा सहयोग गर्ने कमलबहादुर तामाङलगायत संस्थालाई सहयोग गर्नेहरुप्रति धन्यवाद ज्ञापन गरिन् ।

कार्यक्रममा सम्बोधन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थापाले विद्यालयको भौतिक एवं शैक्षिक गुणस्तर सुधारमा निरन्तर लागिरहेको बताए । उनले विद्यालयलाई सहयोग गर्दै आएको भूपू विद्यार्थी समाजलाई धन्यवाद दिँदै आगामी दिनमा निरन्तर विद्यालयसँग सहकार्य गर्न आग्रह गरे ।

विद्यालयका प्रधानाध्यापक शम्भु यादवले भूपू विद्यार्थीलाई धन्यवाद दिँदै निरन्तर विद्यालयसँग सहकार्य गर्न आग्रह गरे ।

२०७० सालमा स्थापना भएको समाजले विभिन्न सरकारी एवं गैरसरकारी संस्थाको सहकार्यमा वित्तीय सारक्षरता, शैक्षिक एवं सामाजिक सुधारका कार्यक्रम गर्दै आइरहेको समाजका कोषाध्यक्ष भीमबहादुर तामाङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्