नुवाकोटमा विभिन्‍न कार्यक्रम गरी मनाइयो पृथ्वीजयन्ती



काठमाडौं पुस २७ । दुई सय ९९ औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस नुवाकोटमा विभिन्न कार्यक्रम गरी सोमबार मनाइएको छ ।

राष्ट्रनिर्माताको राजधानी नुवाकोट दरबार क्षेत्र, सदरमुकाम विदुर र अन्त्यस्थल देवीघाटस्थित पृथ्वीनारायणको शालिक भएका स्थानमा फरक फरक कार्यक्रम गरी मनाइएको हो । विदुरमा आयोजित कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले पृथ्वीनारायण दक्षिण एशियाको एकीकरणको अब्बल योद्धा भएकाले उनको योगदानको सरकारले कदर गर्नुपर्ने बताए । डा लोहनीले सरकारले पृथ्वीनारायणले एकीकरणमा पु¥याएको योगदानलाई सम्मान गर्दै एकता दिवस भव्य रुपमा मनाउनुपर्नेमा पनि जोड दिए । राप्रपा नुवाकोटको आयोजनामा भएको कार्यक्रममा बाजागाजासहित सदरमुकाम परिक्रमा गरिएको थियो ।

यस्तै नुवाकोट दरबार क्षेत्रमा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले पृथ्वीनारायणले मुलक टुक्रिनबाट जोगाएको बताए । प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले इतिहासको विरोध नभई सम्मान गरी अघि बढ्नुपर्ने बताए ।

यस्तै विदुर–५ देवीघाटस्थित पृथ्वी स्मारकमा आयोजित कार्यक्रममा विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले शाहको एकता अभियानबाट अहिलेको पुस्ताले पाठ सिक्नुपर्ने बताए । नगरपालिकाले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज सार्वजनिक बिदा पनि दिएको छ ।

प्रतिक्रिया दिनुहोस्