नुवाकोटको गुर्जेभञ्ज्याङ सडक निर्माणमा चरम लापरबाही, सांसदहरु स्थलगत अनुगमनमा



नुवाकोट पुस २७ । जिल्लाको शिवपुरी गाउँपालिका ६ र काठमाडौं तारकेश्वर नगरपालिकाको सीमा नजिकको गुर्जेभञ्ज्याङ सडक निर्माणमा चरम लापरबाही भएको पाइएको छ ।

जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सांसद हितबहादुर तामाङ र प्रदेश सांसद राधिका तामाङको टोलीले सोमबार गरेको स्थलगत अनुगमनबाट ढकान निर्माणमा कमसल सामग्री प्रयोग भएको पत्ता लगाएको हो । स्थानीयले सडक निर्माणमा कमसल सामग्री प्रयोग गरी निर्माण कम्पनीले काम अगाडि बढाएको गुनासो गरेपछि सांसदको टोली सोमबार त्यहाँ पुगेको थियो । यद्यपि सांसदहरु आफूहरु प्राविधिक विषयमा पूर्ण जानकारी नभएको भन्दै सम्बन्धित निकायलाई तत्काल अनुगमन गर्न निर्देशन दिएका थिए । उक्त सडक खण्ड बागेश्‍वरी मल्टीप्रपोज, गोविन्द रमा निर्माण सेवा लगायतले बनाइरहेका छन् ।

अनुगमनमा पुगेकी वाग्मती प्रदेशकी उपसभामुख राधिका तामाङले पूर्वाधार विकास कार्यालयका इन्जिनियरलाई सम्पर्क गरी तत्काल अनुगमन गरेर गुणस्तरीय सामाग्री प्रयोग गर्न गराउन निर्देशन दिएको बताइन् ।

‘प्राविधिक विषयमा सबै कुरा हामीलाई थाहा हुँदैन, हामीले अहिले नै सम्बन्धित निकायमा कुरा गरिसकेका छौं, जुन गुणस्तरीय हुन्छ त्यही सामाग्री प्रयोग हुनेछ’ तामाङले भनिन् ।

काठमाडौं टोखा- नुवाकोटको छहरे सडकअन्तर्गतको गुर्जेभञ्ज्याङ खण्डमा भइरहेको ढलान निर्माणको अवलोकनका लागि संघीय सांसद तथा पूर्वमन्त्री हितबहादुर तामाङ, नेकपा नुवाकोटका जिल्ला संगठन समिति सदस्य मिनबहादुर तामाङ, नेकपा शिवपुरी गाउँपालिकाका अध्यक्ष वीरबहादुर लामा लगायत अनुगमनमा पुगेका थिए ।

उक्त सडक केन्द्र र प्रदेश सरकारबाट विनियोजित बजेटबाट मर्मत तथा ढलानको काम भइरहेको छ । यो सडकको मर्मत हुँदै गर्दा हरेक वर्ष वर्षात् सुरु भएसँगै हिलो र खाल्डोमा सवारी साधन फस्ने र बाटो बन्द हुने समस्याबाट छुट्कारा पाउने स्थानीयले आसा गरेका छन् । केन्द्रीय संसद्‌मा समेत टोखा-छहरे सडक खण्डको दुर्दशाबारे केही वर्षपहिले निकै चर्को कुरा सुनिय पनि पछिल्लो समय सुधार हुँदै गएको छ । विशेषगरी काठमाडौंको क्षेत्रमा पर्ने झोरमा लामो समय पिच हुन नसक्दा नुवाकोट, रसुवामा ओहोरदोहोर गर्ने नागरिकले व्यापक सास्ती खेप्नु परेको थियो । तर अहिले यो खण्डमा करिब समस्या निमिट्यान्ट भएको छ भने नुवाकोटको गुर्जे, सुनखानी र थानसिङसम्मको बाटो भने मर्मतकै चरणमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्