भिओआइपीमार्फत अवैध अन्तर्राष्ट्रिय कल बाइपास गर्ने चार जना पक्राउ
काठमाडौँ,साउन १७ — अवैधरूपमा अन्तर्राष्ट्रिय कल बाइपास (भिओआइपी) सञ्चालनमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले काठमाडौँ र भक्तपुरका विभिन्न स्थानबाट भिओआइपी सञ्चालनमा प्रयोग हुने उपकरणसहित उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा गोरखाको अजिरकोट गाउँपालिकाका प्रोशेस गुरुङ, काठमाडौँको शङ्खरापुरका मुना श्रेष्ठ, कञ्चनपुरको कृष्णपुरका जेनित झुकाल र भक्तपुरको सूर्यविनायकका कृष्ण नगरकोटी रहेका छन्।
ब्यूरोका प्रवक्ता अनुपमशम्शेर जबराका अनुसार उनीहरूलाई काठमाडौँ र भक्तपुरबाट पक्राउ गरिएको हो। प्रहरीले उनीहरूको साथबाट ल्यापटप, विभिन्न कम्पनीका सिमकार्ड, मोबाइल फोन, ब्याट्री, इन्टरनेट हब, राउटरलगायत सामग्री बरामद गरेको छ।
प्रहरीले बरामद सामग्रीका आधारमा उनीहरूले अवैधरूपमा अन्तर्राष्ट्रिय कल बाइपास गर्दै आएको विषयमा थप अनुसन्धान अघि बढाएको जनाएको छ।

