विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधनमा जन्मथलोमा शोक बिदा
म्याग्दी,साउन १७ — विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधनमा उनको जन्मथलो म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले सोमबार शोक बिदा दिएको छ।
अन्नपूर्ण गाउँपालिका–३ दानामा जन्मिएका पुर्जाको पाकिस्तानस्थित ब्रड पिक आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएको हो।
गाउँपालिकाका अध्यक्ष भरतकुमार पुनले आइतबार जारी गरेको सूचनामा पुर्जाको निधनले गाउँपालिका परिवारसहित समग्र म्याग्दीवासीलाई स्तब्ध र मर्माहत बनाएको उल्लेख गरिएको छ।
पुर्जाको निधनप्रति दुःख व्यक्त गर्दै गाउँपालिकाले सोमबार अत्यावश्यक सेवाबाहेक गाउँपालिका कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था तथा विद्यालयमा शोक बिदा दिने निर्णय गरेको हो।
नेपाली पर्वतारोहण क्षेत्रलाई विश्वमाझ नयाँ उचाइमा पुर्याउन, नेपाली पर्वतारोहीको पहिचान र गौरवलाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्न तथा साहस, नेतृत्व र समर्पणको अनुपम उदाहरण प्रस्तुत गर्न पुर्जाले पुर्याएको योगदान सदैव स्मरणीय रहने गाउँपालिकाले जनाएको छ।
पुर्जाको निधनले विश्व पर्वतारोहण समुदायमा अपूरणीय क्षति पुगेको गाउँपालिकाद्वारा जारी शोक वक्तव्यमा उल्लेख छ।


