मनसुनजन्य विपद्मा एक जनाको मृत्यु, २० जना घाइते
काठमाडौँ,साउन १७ — मनसुनजन्य विपद्का कारण पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबार बिहान १० बजेदेखि शनिबार बिहान १० बजेसम्म देशका २५ जिल्लामा ३४ वटा विपद्का घटना भएका छन्। तीमध्ये सर्पदंशका कारण एक जनाको मृत्यु भएको हो।
उक्त अवधिमा सर्पदंशका १४, आगलागीका ११, पहिरोका छ तथा जनावर आक्रमणका तीन घटना भएका छन्। विपद्का घटनाबाट करिब २७ लाख २५ हजार रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ। यस अवधिमा दुई स्थानमा सडक अवरुद्ध हुनुका साथै १८ चौपायाको क्षति भएको छ।
प्राधिकरणका अनुसार गत वैशाख १ गतेदेखि शनिबार बिहानसम्म देशभर चार हजार ५३ वटा विपद्का घटना भएका छन्। ती घटनामा १९६ जनाको मृत्यु, चार जना बेपत्ता र एक हजार २९१ जना घाइते भएका छन्।
विपद्का घटनाबाट हालसम्म पाँच हजार १८८ परिवार प्रभावित भएका छन्।

