गृहमन्त्री गुरुङद्वारा मटिहानी सीमा क्षेत्रको निरीक्षण
महोत्तरी,साउन १७— गृहमन्त्री सुधन गुरुङले महोत्तरीको मटिहानी नगरपालिका–मधवापुरस्थित नेपाल–भारत सीमा क्षेत्रको निरीक्षण गर्नुभएको छ।
आइतबार मटिहानी पुग्नुभएका गृहमन्त्री गुरुङले सीमा क्षेत्रमा रहेका सीमास्तम्भको स्थलगत निरीक्षण गर्दै सीमाको वर्तमान अवस्था, सुरक्षा व्यवस्थापन तथा आवतजावतबारे जानकारी लिनुभएको हो।
निरीक्षणका क्रममा उहाँले सीमा सुरक्षामा खटिएका सुरक्षा निकायका अधिकारीसँग सीमामा देखिएका चुनौती, अवैध गतिविधि नियन्त्रण तथा सीमा व्यवस्थापनका विषयमा छलफल गर्नुभयो। मटिहानीस्थित सशस्त्र प्रहरी बलको सीमा सुरक्षा चौकीमा पुगेर उहाँले सुरक्षा अवस्थाबारे जानकारी लिनुका साथै सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन आवश्यक समन्वय र सतर्कता अपनाउन निर्देशन दिनुभयो।
पछिल्लो समय मधेसका विभिन्न जिल्लामा दुई समुदायबीच तनाव देखिएको अवस्थामा गृहमन्त्री गुरुङले मटिहानीस्थित ऐतिहासिक तथा धार्मिक महत्वको लक्ष्मीनारायण मठमा पूजा–अर्चना गर्नुभएको थियो। उहाँले पीरबाबा मजारमा समेत पुगेर धार्मिक स्थलको अवस्थाबारे जानकारी लिनुभयो।
मटिहानी पुग्दा गृहमन्त्री गुरुङलाई नगरप्रमुख हरिप्रसाद मण्डल, महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलगायतको टोलीले स्वागत गरेको थियो।

