परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमणः सीमा विवाद र कोरोना खोप मुख्य एजेन्डा



काठमाडौं, पुस २८ । नेपालमा राजनीतिक र संवैधानिक संकटका बीच हुन लागेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको भारत भ्रमणमा सीमा विवाद र कोरोना भाइरस खोपको विषयलाई मुख्य प्राथमिकतामा राखेर छलफल हुने बताइएको छ ।

नेपाल र भारतको छैटौं संयुक्त आयोगको बैठकमा यसअघि विगतमा सम्झौता भएका विकास परियोजना, ऊर्जा, रेललगायतका विषयमा छलफल हुने कार्यसूची तयार भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । १ माघमा हुने भ्रमणको पहिलो दिन भारतीय विदेशमन्त्री एस।जयशंकरसहितको अधिकारीसँग छैटौं संयुक्त आयोगको बैठक हुनेछ ।

पहिलो दिनको बैठकमा नेपालका तर्फबाट लिम्पियाधुरा, लिपुलेक र कालापानी सीमाको विषय परराष्ट्रमन्त्री ज्ञवालीले छलफलमा उठाउनेछन् । ती भूभागलाई समेटेर नेपालले नक्सा जारी गरे पनि अझै पनि सो क्षेत्र भारतको अधीनमै छ । संयुक्त आयोग बैठकसँग आपसी सम्बन्धका सबै पक्षमा छलफल गर्दै सम्बन्धित निकायलाई निर्देशन गर्ने अधिकारसमेत छ । यसकारण नेपालले हाल देखिएको सीमा विवादको समस्यालाई मुख्य एजेन्डाका रूपमा प्रस्तुत गर्नेछ ।

साथै नेपाललाई चाहिने कोभिड–१९ भ्याक्सिनको विषयमा पनि छलफल हुनेछ । भारतले कोभिड–१९ भ्याक्सिन दिने विषयमा यसअघि नै सहमति जनाइसकेको छ । दोस्रो दिन परराष्ट्रमन्त्री ज्ञवालीले राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

डिसेम्बरमै संयुक्त आयोगको बैठक बस्ने भनिए पनि राजनीतिक घटनाक्रमका कारण पछि धकेलिएको हो । सुरुमा संयुक्त आयोगको बैठकका लागि नेपालतर्फबाट मंसिरको दोस्रो वा अन्तिम साता प्रस्ताव गरिएको थियो । तर नेपालले प्रस्ताव गरे पनि भारतले अन्तिम सहमति जनाएको थिएन ।

परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमणपछि नेपाल र भारतका तर्फबाट उच्चस्तरीय भ्रमणको मिति तय हुने सम्भावना रहेको छ । सीमा विवादका कारण नेपालसँग चिसिएको सम्बन्ध सुधारका लागि पछिल्लो समय भारत अग्रसर रहँदै आएको छ । भारतीय विदेश सचिव हर्षवद्र्धन शृंगलाको नेपालको दुई दिने औपचारिक भ्रमणसँगै सम्बन्ध सुधारमा भारतले चासो दिएको हो ।

यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्