नुवाकोटको शिवपुरीमा गोरु जुधाइसँगै कलाकारको धमाका, जाने होइन ?



काठमाडौ,पुष २८ । यसवर्षको माघेसंक्रान्तिमा नुवाकोटको शिवपुरीमा गोरु जुधाइसंगै राष्ट्रिय कलाकारको धमाका हुने भएकोछ । शिवपुरी गाउँपालिका–५, शेराबगरमा हुने गोरु जुधाइमा राष्ट्रिय कलाकारहरुको समेत प्रस्तुति हुने भएपछि आन्तरिक पर्यटकको घुइँचो लाग्ने अनुमान गरेको आयोजक शेराबगर विकास समाजका अध्यक्ष अभियान आचार्यले बताए ।

अध्यक्ष आचार्यका अनुसार यसवर्ष थोरै संख्यामा गोरु जुधाइने भएकाले उपस्थित दर्शकलाई सांगितिक मनोरञ्जन पनि दिन लागिएको हो । गतवर्ष ६ हाल गोरु जुधाइएकोमा यसवर्ष भने ४ हल गोरु जुधाउने तयारी भएको समाजले जनाएको छ।

गोरु जुधाइ कार्यक्रमले सन्तुष्ट बन्न नसकेका दर्शक सांगितिक माहोलमा रम्न पाउने भएका छन्।सांगितिक कार्यक्रममा लोकदोहोरी क्षेत्रमा ख्यातिप्राप्त कलाकार को उपस्थिति रहने श्रोतले जनाएको छ। चर्चित लाइभ दोहोरीका जोडी सानू केसी र प्रतिमा आर्यालको समेत प्रस्तुति रहने आयोजकले जनाएको छ। शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा गायक रेशम थापा, रामहरि भण्डारी,उद्दब कार्की,कुमार लामा,रामशरण आले लगायत कलाकारले सांगितिक धमका मच्चाउने छन् ।

नुवाकोटमा ३१ हल गोरु जुधाइने

यस वर्ष माघे सङ्क्रान्तिमा नुवाकोटका विभिन्न स्थानमा गोरु जुधाइ मेला हुने भएको छ । जिल्लाका चार स्थानमा ३१ हल गोरु जुधाइने कार्यक्रम तय भएको आयोजकले जनाएका छन् ।

जिल्लामा गोरु जुधाउने चर्चित स्थान तारकेश्वर गाउँपालिका–३ तारुकामा सबैभन्दा धेरै १७ हल गोरु जुधाइने छ । विदुरमा सोमबार आयोजित पत्रकार सम्मेलनमा मेला आयोजक समितिका संयोजक तथा तारकेश्वर–३ का वडाध्यक्ष सूर्यमान श्रेष्ठले गोरु जुधाइका कार्यक्रम तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । तारुकाका विभिन्न स्थानमा गोरु जुधाएर मनोरञ्जन लिने परम्परालाई २०६२ सालदेखि चन्दनीको बारीको ठूलो पाटोमा व्यवस्थित रुपमा एकै स्थानमा गोरु जुधाउन थालिएको हो । यहाँको गोरु जुधाइ हेर्न विगतमा हजारौं दर्शक आउने गरेका थिए । कोरोनाका कारण यस वर्ष दर्शकमा केही कमी आउन सक्ने भए पनि परम्परालाई निरन्तरता दिनेक्रममा मेला नरोकिएको आयोजकले जनाएका छन् ।

यस्तै विदुर नगरपालिका–१० बेत्रावतीमा पनि सीमित रुपमा गोरु यस्तै व भएको छ । कोरोनाको कारण सीमित रुपमा मेला सञ्चालन गर्ने योजना बनाएको आयोजक गोसाइँकुण्ड युवा क्लबले जनाएको छ । यस वर्ष वरपरका चार हल मात्र गोरु जुधाइने योजना बनाएको क्लबका अध्यक्ष ज्ञानकुमार डङ्गोलले जानकारी दिए । कोरोनाका कारण धेरै प्रचारप्रसारमा जोड नदिई परम्परालाई निरन्तरता दिने उद्देश्यले मात्र थोरै सङ्ख्यामा गोरु जुधाइने योजना बनाएको उनले बताए ।

बेत्रावतीमा विजेता गोरुधनी किसानलाई रु पाँच हजार, हार्ने गोरुधनी किसानलाई रु चार हजार पुरस्कारको व्यवस्था गरिएको क्लबले जनाएको छ ।

यस्तै पञ्चकन्या गाउँपालिका–३ घलेगाउँमा ६ हल गोरु जुधाउने आयोजक नवप्रतिभा युवा समाजका अध्यक्ष शिवहरि विष्टले जानकारी दिए । विजेता तथा सहभागी गोरुका धनीलाई रु १५, १० र पाँच हजार पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्