ओलीले प्रधानमन्त्री पाउनकै लागि राजनीतिक सौदाबाजी गरे : प्रचण्ड



काठमाडौं पुस २८ ।

राजनीतिक रुपमा विभाजित बनेको नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले केपी शर्मा ओलीले प्रधानमन्त्री पाउनकै लागि राजनीतिक सौदाबाजी गरेको खुलासा गरेका छन्।

पोखरामा पार्टीको गण्डकी प्रदेश कमिटीले आयोजना गरेको बृहद् कार्यकर्ता भेला तथा संघर्ष अभिमुखीकरण कार्यक्रममा दाहालले प्रधानमन्त्री पदकै लागि ओलीले सौदाबाजी गरेको बताए।

दाहालले बइमान र छलकपटमा ओली अघि बढेको आरोप लगाए। ‘पार्टीभित्र विवाद चलेको नाममा संसद् भंग गर्ने र संविधानमाथि आक्रमण गर्ने काम भयो,’ उनले भने, ‘हामी इतिहासको अत्यन्तै संवेदनशील घडीमा आइपुगेका छौं। संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा परेको छ। अहिलेसम्मको उपलब्धिमाथि जबरजस्ती प्रहार गर्ने काम भएको छ।’

आन्दोलन र बलिदानका उपलब्धि रक्षा गर्नका लागि संघर्षमा होमिएको भन्दै दाहालले संसद पुनर्स्थापना नभएसम्म आन्दोलन जारी रहने बताए।

दाहालले केही दिनअघि प्रधानमन्त्री ओलीले जनयुद्धलाई कुहिएको पर्सी भन्दै दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाए।

प्रतिक्रिया दिनुहोस्