प्रधानमन्त्रीलाई आफ्नै पार्टीका नेताहरुले घेराबन्दी गरेपछी संसद विघटन गर्नुपरेको हो : मन्त्री अर्याल



स्याङ्जा पुस २८ ।
कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले सरकारलाई आफ्नै पार्टीका नेताहरुले चारैतिरबाट घेराबन्दी गरेपछी प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले जनतामाझ जाने निर्णय गरेको बताएकी छन् ।

मन्त्री अर्यालले गृहजिल्ला स्याङ्जाका विभिन्न स्थानहरुमा आयोजित ओली नेतृत्वको नेकपाको सभालाई सम्बोधन गर्ने क्रममा त्यस्तो बताएकी हुन् । पाँच वर्षका लागि जनताले चुनेर पठाएको आफ्नै पार्टी अध्यक्ष ओलीले नेतृत्व गरेको सरकारलाई पार्टीभित्रैका नेताहरुले अनेकन बहानामा घेराबन्दी गरेका कारण प्रतिनिधिसभा विघटनको निर्णय गर्नुपरेको उनले बताइन् ।

उनले जनतामाझ जाने उक्त निर्णय लोकतान्त्रिक निर्णय भएको समेत दावी गरिन् । ‘पार्टी एकता भएपछि बिचारको बहस, छलफल शून्य भयो । पद, सेवासुविधाको छलफल चल्न थाल्यो । बिचारबाट निर्देशित भएको पार्टी पद, पावरमा गएर अल्झियो’,
आम जनताले आशा भरोसा र विश्वास गरेको सबैभन्दा ठूलो पार्टी नेकपाभित्रैका ठूला नेताहरुले राष्ट्रपतिलाई महाअधियोग लगाउनेसम्मको तयारी गरी हस्ताक्षर गरेका कारण प्रतिनिधिसभाको विघटन गर्नुपर्ने स्थितीको सिर्जना भएको मन्त्री अर्यालले बताइन् ।

‘चारैतिर घेरेर ढोका थुनेर सास थुन्न थालेपछि मुसा पनि बाहिर आउन खोज्छ । जनताले ५ वर्षका निम्ति जनताले मत दिएका थिए । तर प्रधानमन्त्री ज्यूलाई बस्नखानै नदिएपछि । सरकारलाई काम गर्नै नदिएपछि यस्तो कदम चाल्नुपरेको हो ।’

प्रतिक्रिया दिनुहोस्