मुलुक निर्वाचनमा होमिएको छ चुनाव हुन्छ कि हुँदैन भन्ने भ्रममा नपरौं : मन्त्री गुरुङ



काठमाडौं पुस २८ ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले मुलुक सम्पूर्ण रुपमा निर्वाचनमा होमिएको बताएका छन् ।

क्रियाशील दलित पत्रकार संघ, नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले चुनाव हुन्छ कि हुँदैन भन्ने भ्रममा नपर्न पनि सबैलाई आग्रह गरे । मन्त्री गुरुङले ताजा जनादेशमा जाने सरकारको निर्णय प्रतिगामी, असंवैधानिक हुनै नसक्ने स्पष्ट पारे । मन्त्री गुरुङले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले समेत ‘चुनावमा जाने बेला कहाँ संसद पुनस्र्थापना हुन्छ ?’ भनेर भन्नुभएको प्रसंग समेत उल्लेख गरे ।

मन्त्री गुरुङले प्रचण्डले माधव नेपालको ढाडमा टेकेर प्रधानमन्त्री केपी ओलीको टाउकोमा हान्ने रणनीति लिएर लोकतान्त्रिक गणतन्त्रकै टाउकोमा हान्ने, संविधानकै टाउकोमा हान्ने, राष्ट्रियता र शासन प्रणालीमाथि नै हान्ने असफल प्रयास गरेको आरोप लगाए ।

जनयुद्ध कालमै असफल भइसकेको त्यो रणनीति आज सफल नहुने चर्चा गर्दै मन्त्री गुरुङले त्यो असफल यात्रामा लागेर कोही कसैले राजनीतिक बाटो लिन नहुने चेतावनी दिए । उनले जनता निर्वाचनको पक्षमा उभिएको, राजनीतिक दलहरुले आन्दोलनको नाममा निर्वाचनको तयारी गरिरहेको उल्लेख गर्दै निर्वाचनको तयारीमा जुटन पनि सबैलाई आह्वान गरे ।

मन्त्री गुरुङले पत्रकारहरुलाई पनि मुलुकमा अस्थिरता ल्याउने, द्धन्द्धमा फसाउने, बलिरहेको आगोमा घिउ थप्ने खालका गतिविधि नगर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्