२३ औँ भूकम्प सुरक्षा दिवस मध्यपुर ठिमीमा



काठमाडौं पुस २९ । बहुप्रकोपीय विपद् मा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा, भन्ने मूल नाराका साथ यस वर्षको राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल समारोह विविध कार्यक्रमका साथ भक्तपुरको मध्यपुर ठिमी नगरपालिकामा आयोजना गरिने भएको २३ औँ भूकम्प सुरक्षा दिवस प्रचार प्रसार उपसमितिले जनाएको छ ।

आउँदो माघ २ गते आयोजना गरिने भूकम्प सुरक्षा दिवसको राष्ट्रिय कार्यक्रमबारे जानकारी दिन आज शहरी विकास तथा भवन निर्माण विभागमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । माघ २ गतेको मूल समारोह कार्यक्रम गृहमन्त्री राम बहादुर थापा बादलको प्रमुख आतिथ्यतामा दिउसो २ वजे मध्यपुर ठिमी नगरपालिकाको कुमारी मन्दिर परिसर, बोडेमा हुने भूकम्प सुरक्षा दिवस प्रचार प्रसार उपसमितिका संयोजक तथा शहरी विकास तथा भवन निर्माण विभागका निमित्त महानिर्देशक पदम कुमार मैनालीले जानकारी दिए ।

उहाँका अनुसार विद्यमान कोभिड १९ को असहज परिस्थितिमा नेपाल सरकारले जारी गरेको स्वास्थ्य सतर्कता परिपालना गरी वा अनलाइन प्रविधि मार्फत् देशका संघ, प्रदेश तथा स्थानिय तहहरुमा विभिन्न जनचेतनामूलक कार्यक्रहरु संचालन हुनेछन् । भुकम्पीय सुरक्षा सम्वन्धि दुई दिवसीय राष्ट्रिय गोष्ठी कार्यक्रम, भूकम्पीय सुरक्षा सम्बन्धि डिजिटल प्रदर्शनी लगायतका कार्यक्रमहरु सामाजिक सञ्जाल तथा आम संचार माध्यम र अनलाइन प्रविधि मार्फत् आयोजना गरिने मैनालीले बताए ।

पत्रकार सम्मेलनमा वोल्दै निमित्त महानिर्देशक मैनालीले विगत एक बर्षको अवधिमा विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा मुलुकले नीतिगत तथा कार्यक्रमगत तहमा उल्लेख्य प्रगति गरेको र विपद् जोखिम न्यूनीकरणमा सरकारको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण लगायत नीजि क्षेत्र, सार्वजनिक क्षेत्र र गैर सरकारी क्षेत्रबाट भएका प्रयत्नहरुको प्रसंशा गरे ।

भूकम्पीय जोखिम न्यूनीकरण गर्न भूकम्प प्रतिरोधी सुरक्षित संरचना निर्माण गर्न आवश्यक हुने भन्दै मैनालीले सरकारी संयन्त्र, नागरिक समाज, निजी क्षेत्र ,समुदाय तथा गैह्र सरकारी संस्थाहरु आदि सबैको सहकार्यले मात्र उक्त लक्ष्य प्राप्त हुन सक्ने हुँदा सबै सरोकारवालाहरुवाट थप योगदान एंव निरन्तर सहभागिताको लागि अपिल गरे ।

देशमा भूकम्पीय जोखिम न्यूनीकरण तथा पूर्व तयारीका विषयमा विगतका प्रयास तथा अनुभवहरुको आदान प्रदान गर्दै नयाँ प्रविधि र उपायहरुको प्रभावकारी कार्यन्वयनका लागि प्रतिवद्धता जनाउने उद्देश्यले २०५५ साल देखि गृह मन्त्रालयको संयोजकत्वमा नेपाल सरकारले हरेक बर्ष माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्