कोरोनाविरुद्धको खोप आयातका लागि आर्थिक सहयोग गर्न सरकारको आग्रह



काठमाडौं पुस २९ ।

सरकारले कोरोनाविरुद्धको खोप आयातका लागि आर्थिक सहयोग गर्न आग्रह गरेको छ ।

सरकारी बजेटले मात्रै खोप खरिद गर्न नपुग्ने भन्दै स्वास्थ्य मन्त्रालयले दातृ निकाय, विदेशी, विभिन्न व्यवसायिक एवम् सामाजिक र परोपकारी संस्थाहरुलाई आर्थिक सहयोग गर्न आह्वान गरेको हो । दाताहरुले “खोप कोष” अन्तर्गत कोष तथा लेखा नियन्त्रणको कार्यालय त्रिपुरेश्वरको खातामा रकम जम्मा गर्न सक्नेछन् । कोषमा योगदान गर्ने दाताहरुसँग सहकार्य गरी जम्मा हुने रकम सरकारले खर्चको समीक्षा गरी परिचालन गर्ने जनाएको छ ।

प्राथमिकताको आधारमा लक्षित समूहलाई निःशुल्क खोप उपलब्ध गराउने सरकारले यसअघि नै घोषणा गरिसकेको छ । खोप आयातका लागि आवश्यक प्रक्रिया अघि बढिसकेको सरकारको भनाइ छ ।

यसैबीच रसियाले आफूले उत्पादन गरेको कोराना खोप ‘स्पुतनिक भी’ सकेसम्म छिटो नेपाललाई उपलब्ध गराउन तयार रहेको बताएको छ । अन्तराष्ट्रिय समाचार संस्था रोयर्टर्सले रसियाको विदेश मन्त्रालयलाई उद्धृत गदै २५ मिलियन अर्थात २ करोड ५० लाख डोज खोप उपलब्ध गराउन तयार रहेको उल्लेख गरेको छ ।

केही महिनायता रसियाले आफू नेपाललाई खोप उपलब्ध गराउन तयार रहेको बताइरहेको छ । स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीले पनि भारत, चीन, रसिया लगायतका मुलुकहरुसँग खोपको बारेमा कुराकानी भइरहेको बताएका छन् । काठमाडौंस्थित रसियाली राजदूतावासले पनि नेपाललाई खोप उपलब्ध गराउन रसिया तयार रहेको बताएको छ । नेपाल सरकारले भारतबाट जी टु जी प्रक्रिया मार्फत् खोप ल्याउने तयारी समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्