कक्षा १२ को नतिजा माघ १० गतेभित्रै प्रकाशन गर्ने तयारी



काठमाडौं माघ १ ।

यही माघ १० गतेभित्रै कक्षा १२ को नतिजा प्रकाशन हुने भएको छ ।

राष्ट्रिय परिक्षा बोर्डका अध्यक्ष डाक्टर चन्द्रमणि पौडेलले अहिलेसम्म तथ्याङ्क प्रवृष्टि डाटा इन्ट्री गर्ने काम सकिएको र रुजु गर्ने काम भइरहेको जानकारी दिए ।

उनले ४० प्रतिशतको नतिजा रुजु भइसकेको र ६० प्रतिशतको काम यसै हप्ता सकिने भएकाले १० गतेभित्र नतिजा प्रकाशनको तयारी भइरहेको बताए । केही समयअघि नै नतिजा प्रकाशनको तयारी भए पनि विद्यालयहरूको चरम लापर्बाहीका कारण ढिलाइ भएको अध्यक्ष पौडेलले जानकारी दिए ।

दिनुपर्ने अङ्क, विद्यार्थीको विवरण, उल्लेखित मापदण्डलगायतका विषयमा विद्यालयहरूले लापर्बाही गर्दा ढिला भएको उनले बताए । जेठमै हुनुपर्ने परीक्षा यस पटक कोरोना महामारीका कारण गएको मङ्सिर ९ गतेदेखि सुरु भएको थियो । हरेक विद्यालयलाई परीक्षा केन्द्र बनाइएको थियो ।

परीक्षामा चार लाख ३१ हजार विद्यार्थी सहभागी छन् । यसपटक ४० प्रतिशत अङ्क सैद्धान्तिक आधारमा, ४० प्रतिशत कक्षा ११ मा पाएको अङ्कका आधारमा र २० प्रतिशत अङ्क प्रयोगात्मक परीक्षाको आधारमा दिइने छ ।

प्रतिक्रिया दिनुहोस्