पेट्रोलियम पाइपलाइन फुटाएर तेल चोरी



काठमाडौं माघ २ ।

नेपाल–भारत पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइनबाट तेल चोरी भइरहेको भारतीय मिडियाहरूले बताएका छन् ।

मोतीहारी अमलेखगञ्ज पाइपलाइन अन्तर्गत नेपाली सीमाबाट एक सय किलोमिटर पर बिहारको सिवानको नविगन्जमा पाइपलाइन फुटाएर हजारौँ लिटर डिजेल चोरी भएको भारतीय मिडियाहरूले बताएका हुन् ।

नवभारत टाइम्सले गरेको दाबीअनुसार पाइपमा प्वाल पारी तेल चोरी भइरहेको छ। नेपाल आयल निगमले भने पाइपमा आक्रमण भएको भए पनि डिजेल चोरीको जानकारी प्राप्त नभएको बताएको छ। पाइपलाइनमा आक्रमणलगत्तै भारतीय आयल कर्पोरेसनको मोतीहारीस्थित प्रणालीमा प्रेसर कम भएको र पाइपलाइनमा क्षतिको जानकारी भारतीय पक्षले तुरुन्तै पाएको निगमले दाबी गरेको छ।

पाइपलाइन आक्रमणबाट भएको क्षति नेपालले व्यहोर्न नपर्ने पनि निगमले जनाएको छ। पाइपलाइनमा क्षति गर्नेलाई भारतीय अधिकारीले पक्राउ गरेर कानुनी कारबाही शुरु गरेको भारतीय सञ्चार माध्यमहरूमा बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्