मुख्यमन्त्री राईविरूद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका तीन सांसदद्वारा हस्ताक्षर फिर्ता



काठमाडौ, माघ ५ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका दाहाल- नेपाल समूहका तीन जना सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपामै फर्कने घोषणा गरेका छन् । तिनै जना सांसदहरुले मुख्यमन्त्री राईबिरुद्ध गरिएको हस्ताक्षर फिर्ता गर्ने निर्णय गरेका हुन।

प्रचण्ड–माधव समुहको दवावमा आइ प्रदेश १ को सामाजिक विकास राज्यमन्त्री पदबाट राजीनामा दिएर अविश्वास प्रस्तावमा हस्ताक्षर गरेकी जसमाया गजमेर, गोपाल बुढाथोकी र श्रीप्रसाद मैनालीले हस्ताक्षर फिर्ता लिने निर्णय गरेका हुन । उनिहरुको यो निर्णयसँगै प्रदेश १ प्रचण्ड माधव समुह निकै कमजोर बनेको तथ्य बाहिर आएको छ ।

‘मुख्यमन्त्रीबिरुद्धको हस्ताक्षर फिर्ता लिने निर्णयमा हामी पुगेका छौं,’ गजमेरले भन्नुभयो । सत्तारुढ नेकपामा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई ‘कू’ गर्न प्रचण्ड–माधव समुहले गरेको षडयन्त्रलाई चिर्दै प्रतिनिधिसभा बिघटन गरी चुनावको घोषणा प्रधानमन्त्रीले गरेसँगै पार्टीबाटै अलग भएर गएको सो समुहले ओलीनिकट मुख्यमन्त्री राई बिरुद्ध अबिश्वासको प्रस्ताव दर्ता गरेको थियो । अबिश्वास प्रस्तावमा नेकपाका ३७ सदस्यले हस्ताक्षर गरेका थिए । हस्ताक्षरकर्तामध्ये दुई जना सांस्दले यसअघि नै फिर्ता लिइसकेका छन् ।

थप तीन जनाले हस्ताक्षर फिर्ता लिएसँगै अब प्रचण्ड–माधव समुहमा ३२ जना सांसद मात्रै बाँकी रहेका छन । प्रचण्ड–माधव समुहका थप आधा दर्जन सांसद पनि हस्ताक्षर फिर्ता लिएर प्रधानमन्त्री ओली नेतृत्वको संस्थापनमै फर्कने योजना अघि बढाएका छन ।

प्रतिक्रिया दिनुहोस्