नुवाकोटमा नेकपाका अधिकांश पालिका प्रमुख, उपप्रमुखहरु प्रचण्ड-नेपाल पक्षमा [हेरौं को कता ?]



नुवाकोट माघ ६ । नेकपाले जितेको नुवाकोटका स्थानीय पालिकाहरुका अधिकांश प्रमुख, उपप्रमुखहरु प्रचण्ड-नेपाल पक्षमा देखिएका छन् ।

१२ स्थानीय तह रहेको नुवाकोटमा नेकपाका उम्मेदवारले दुई नगरपालिका र दुई गाउँपालिकामा प्रमुख, उपप्रमुख र १ पालिकामा अध्यक्ष र १ पालिकामा उपाध्यक्षमात्रै जितेका छन् । जसमध्ये नेकपा विभाजनपछि बेलकोटगढी नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनालबाहेक सबै पालिका प्रमुख, उपप्रमुख नेकपा प्रचण्ड-नेपाल पक्षमा उभिएका छन् । यद्यपि लिखु गाउँपालिकाकी उपाध्यक्ष जितेकी रोजीना राई भने यो रिपोर्ट तयार पार्दासम्म तटस्थ देखिएकी छन् । उनले साझा पथसँग भनिन्, ‘म विघटनको विपक्षमा छु, अहिलेसम्म कुनै पक्षमा लागेकी छैन ।’ तर उपाध्यक्ष राई पुस २९ मा नुवाकोटको छहरेमा प्रचण्ड-नेपाल पक्षको प्रतिनिधिसभा क्षेत्र नं १ स्तरीय भेलामा सहभागी भएकी थिइन् ।

नेकपा वाग्मती प्रदेश सचिवालय सदस्य एवं नुवाकोट क्षेत्र १ का इन्चार्ज पुष्प लामिछानेले सतप्रतिशत जस्तै स्थानीय पालिकाका प्रमुख, उपप्रमुख प्रचण्ड-नेपाल पक्षमा रहेको बताए । उनले एकाध जनप्रतिनिधि ओली समूहको गतिविधिमा लागेको देखिए पनि केन्द्रदेखि स्थानीय तहसम्म बहुमत नेता, कार्यकर्ता पंक्ति रहेको नेकपा (प्रचण्ड-नेपाल) पक्षमा फर्किने विश्वास व्यक्त गरे ।

बेलकोटगढी नगरपालिका तत्कालीन एमालेतर्फका खनाल प्रमुखमा र उपप्रमुख ढुंगाना पूर्वमाओवादी केन्द्रबाट विजयी हुन् । त्यस्तै विदुर नगरपालिकाका प्रमुख सन्जु पण्डित, उपप्रमुख गीताकुमारी दाहाल, तारकेश्वर गाउँपालिका अध्यक्ष रमेशबहादुर वस्ती र
तारादेवी रिमाल (अधिकारी) र लिखुकी उपप्रमुख राई पूर्वएमाले तर्फबाट विजयी भएका थिए ।

ककनी गाउँपालिका अध्यक्ष मानबहादुर लामा र उपाध्यक्ष सीता लामा र पञ्‍चकन्या गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङ पूर्वमाओवादी केन्द्रबाट निर्वाचित हुन् । पञ्‍चकन्याको उपाध्यक्षमा भने कांग्रेस उम्मेदवार जितेका छन् ।

नेताहरु कित्ता फेर्ने क्रम जारी रहेकोले हामीले यो रिपोर्टलाई प्रारम्भिक तथ्यांकको रुपमा प्रस्तुत गरेका छौं ।

नेकपाका नेताहरुले देखिएको जानकारीअनुसार नुवाकोटका स्थानीय जनप्रतिनिधिहरु को कसका पक्षमा ?

बेलकोटगढी नगरपालिका
प्रमुख :
राजेन्द्ररमण खनाल (ओली समूह)
उपप्रमुख : कविता ढुंगाना (प्रचण्ड-नेपाल समूह)

विदुर नगरपालिका
प्रमुख :
सन्जु पण्डित (प्रचण्ड-नेपाल समूह)
उपप्रमुख : गीता कुमारी दाहाल (प्रचण्ड-नेपाल समूह)

तार्केश्‍वर गाउँपालिका
अध्यक्ष :
रमेशबहादुर वस्ती (प्रचण्ड-नेपाल समूह)
उपाध्यक्ष : तारादेवी रिमाल (अधिकारी) (प्रचण्ड-नेपाल समूह)

पञ्चकन्या गाउँपालिका
अध्यक्ष :
तेजबहादुर तामाङ (प्रचण्ड-नेपाल समूह)

ककनी गाउँपालिका
अध्यक्ष : मानबहादुर लामा (प्रचण्ड-नेपाल समूह)
उपाध्यक्ष : सीता लामा (प्रचण्ड-नेपाल समूह)

लिखु गाउँपालिका
उपाध्यक्ष
:रोजिना राई (तटस्थ)

प्रतिक्रिया दिनुहोस्