यस्तो छ वाग्मती प्रदेशसभाभित्र विभाजित नेकपाको अवस्था [कसका पक्षमा कति सांसद ?]



काठमाडौं माघ १४ । प्रतिनिधिसभा विघटनपछि व्यावहरिक रुपमा विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) यतिबेला वैधानिकताको लडाइँमा रुमलिएको छ । कामचलाउ प्रधानमन्त्री रहेका अध्यक्ष केपी ओली समूह प्रतिनिधिसभा विघटन गरी वैशाखमा मध्यावधी चुनाव गर्ने तयारीसँगै केन्द्रदेखि स्थानीय तहसम्म छुट्टै पार्टी संचरना बनाएर गइरहेको छ भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूह प्रतिनिधिसभा पुन:स्थापनाको मूल मुद्दासहित छुट्टै पार्टी संरचना बनाएर सडक संघर्षमा कैन्द्रित छ । फरक मुद्दा र फरक-फरक पार्टी संरचनासहित एक अर्का विरुद्ध संघर्षरत दुई पार्टीले आफूलाई वैधानिक दाबीसहित निर्वाचन आयोगमा निवेदन दिए तापनि आयोगले भनै दुवै समूहको निवेदन र दाबीलाई अस्वीकार गरिदिएको छ ।

आयोगले दूबै समूहका पछिल्ला निर्णयहरु विधानविपरीत भन्दै दुवै अध्यक्षको हस्ताक्षर बिनाको निर्णय आधिकारिक नहुने र यो अवस्थामा नेकपा विभाजन भएको नमानिने निष्कर्ष आइतबार निकालेको छ । तर दुवै समूह आफू नै आधिकारिक नेकपा भएको दाबीसहित आफ्ना पक्षमा नेता कार्यकर्ता तानातान र कारबाहीको शृंखला जारी राखिरहेका छन् । सत्ता समिकरणमा मुख्य भूमिका खेल्ने सांसदहरुको त खरिदबिक्रीकै चर्चा चलिरहेको छ ।

नेकपा विभाजनको प्रभाव वाग्मती प्रदेशसभामा पनि उत्तिकै परेको छ । प्रदेशको मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका नेकपा प्रचण्ड–माधव समूहले पार्टीका स्थायी समिति सदस्यसमेत रहेकी प्रदेश सांसद अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्रीकौ उम्मेदवार बनाएको छ । नेकपाका ८० जना सांसदमध्ये ४५ जना सांसदको हस्ताक्षर रहेको अविश्वासको प्रस्ताव प्रदेशसभामा टेबल भइसकेको छ । मुख्यमन्त्री डोरमणि पौडेलले अविश्वासको प्रस्ताव फेस गर्छु भने तापनि यतिबेला उनीसँग नेकपाका सभामुखबाहेक ३३ जना सांसदमात्र रहेका छन् । एक सय दस सांसद रहेको वाग्मती प्रदेशमा सरकार बन्नका लागि ५६ जना आवश्यक हुन्छ ।

मुख्यमन्त्री पौडेललाई आफूलाई संसदको विश्वास रहेको पुष्टि गर्न थप २३ सांसद आवश्यक पर्दछ । हाल प्रदेशसभामा कांग्रेसको २२, विवेकशील साझा ३, राप्रपा २, नेपकिपा २ र स्वतन्त्र १ सांसद रहेका छन् । उपसभामुखबाहेक ४५ सांसद रहेका प्रचण्ड–माधव समूहलाई कांग्रेस एक्लैको समर्थन पर्याप्त रहन्छ भने मुख्यमन्त्री पौडेललाई कांग्रेससहित साना दलको पनि समर्थन आवश्यक रहन्छ । यो अवस्थामा मुख्यमन्त्री पौडेल एकातिर प्रचण्ड–माधव समूहमा लागेका नेकपाकै सांसदलाई मन्त्री बनाउने आश्वसन दिएर आफूतिर तान्ने कोसिसमा लागेका नेकपा नेताहरुले बताएका छन् भने अर्कातिर कांग्रेस र साना दलसँग मिलेर सरकार बानाउने कसरतमा लागेका छन् । यस क्रममा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका काठमाडौंका प्रकाश श्रेष्ठ र चितवनका कृष्णप्रसाद भुर्तेल ओली समूहमा लागेर मुख्यमन्त्री पौडेललाई साथ दिने भएका छन् ।

ओली समूहका प्रदेश संसदीय दलका प्रमुख सचेतक केशव पाण्डेले मुख्यमन्त्री पौडेलको पक्षमा बहुमत सदस्य रहेको दाबी गरे । उनले भने, ‘मुख्यमन्त्रीसँग बहुमत छ । उहाँहरु (प्रचण्ड-नेपाल) पक्षले अविश्वासको प्रस्ताव दर्ता गर्दा ४५ जनाको हस्ताक्षर देखाए पनि तीमध्ये ५/६ जना फिर्ता भइसकेका छन् । अरुसँग पनि कुराकानी चलिरहेको छ । यतै आउनुहुन्छ ।’

यो कसरत प्रचण्ड–माधव समूहबाट पनि उत्तिकै जारी देखिन्छ । यो समूहले मुख्यमन्त्री पौडेलको सरकार छिट्टै विघटन हुने र आफ्नो समूहको नेतृत्वमा सरकार बन्ने दाबीसहित सांसदहरुलाई आफूतिर तान्नै प्रयासमा रहेका छन् ।

प्रचण्ड-नेपाल समूहबाट प्रदेश संसदीय दलका उपनेता शालिकराम जम्कट्टेलले मुख्यमन्त्रीविरुद्धको अविश्‍वास प्रस्तावमा ४५ सांसदले हस्ताक्षरकोले आफूहरुसँग बहुमत रहेको बताए । उनले दोलखाबाट प्रतिनिधित्व गर्ने हिमाली गोलेसमेत आफ्नो पक्षमा रहेको दाबी गर्दै नेकपाको प्रदेशसभामा ८० सांसदमध्ये ओली समूहमा ३४ जनामा रहने बताए ।

सुरुमा ओली समूहमा लागेका काभ्रेका बसुन्धरा हुमागाईं र धादिङका डा.रामकुमार अधिकारी पछिल्लो समय प्रचण्ड–माधव समूहमा खुलेका छन् । निकट भविष्यमा नै निर्वाचन आयोगबाट आफ्नो समूह नै आधिकारिक घोषित हुने दाबी गर्दै संसदीय दलका उपनेता एवं हालै मन्त्रीबाट राजीनामा दिएका शालिकराम जम्कट्टेलले दलको आधिकारितासँगै धेरै साथीहरु प्रचण्ड–माधव समूहमा फर्किने दाबी गरे । उनका अनुसार कांग्रेससँग सहकार्यको कुरा भए तापनि केन्द्रीयस्तरमै कांग्रेसको स्पष्ट कुरा आइनसकेकोले निर्णय गर्न नसकेको बताए । प्रदेश एक र तीनमध्ये एक ठाउँ मुख्यमन्त्री दिएर कांग्रेससँग सहकार्य गर्ने नेकपाभित्र चर्चा चलेतापनि नेता जम्कट्टेलेले यो विषयमा केही खुलाएनन् । तर कांग्रेसले भने दुवै समूहबाट मुख्यमन्त्रीकै प्रस्ताव आएको तर वैधानिक रुपमा नेकपा फुटिनसकेको अवस्थामा तत्काल निर्णय नलिई पर्ख र हेरको अवस्थामा रहेको बताएका छन् ।

विभिन्न स्रोतले दिएको जानकारी अनुसार विभाजित नेकपाको वाग्मती प्रदेशसभाभित्रको अवस्था हेरौं तालिकामा :

प्रतिक्रिया दिनुहोस्