कार्पेट उत्पादनमा लगानी बढाउँदै प्रेस्टिज समूह



वीरगञ्ज, माघ १५ । कपडा र फुट वेयर उत्पादनमा दक्षता प्राप्त पे्रस्टिज समूहले पछिल्लो समय कार्पेट उत्पादनमा लगानी बढाएको छ । वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ४० करोड रुपैयाँको लगानीमा केही महीनाअघि कार्पेटको व्यावसायिक उत्पादन थालेको पे्रस्टिज कार्पेट उद्योगमा नयाँ प्रविधि थप्न लागेको समूहका अध्यक्ष विनय शाहले बताए ।

नयाँ प्रविधिबाट गुणस्तर र लागतलाई प्रतिस्पर्धी बनाउने रणनीति उद्योगले लिएको छ । उद्योगले यसअघि अमेरिका र अस्ट्रेलियाबाट भित्र्याइको प्रविधिबाट २० ओटा डिजाइनमा टफ्टेड कार्पेट उत्पादन गरिरहेको छ । बजारको माग र आवश्यकताका आधारमा डिजाइन थप्दै लैजाने योजना राखिएको शाहले जानकारी दिए ।

अमेरिकाबाट भित्र्याउन लागिएको नयाँ प्रविधिसहितको उपकरणका लागि ८ करोड रुपैयाँ लगानी थप्ने योजना उद्योगले बनाएको छ । करीब ५ महीनादेखि व्यावसायिक उत्पादन गरिरहेको यो उद्योगले अहिले लुप पाइल कार्पेट उत्पादन गर्दै आएकोमा नयाँ उपकरण भित्र्याएपछि कट लुप कार्पेट बनाउने शाहले बताए ।

केही महीनाभित्रै नयाँ प्रविधि आइसक्ने शाहले बताए । ‘स्वदेशी बजारमा कार्पेटको आयात प्रतिस्थापनको उद्देश्य राखेका छौं । नयाँ प्रविधि आएपछि करीब ९० प्रतिशत आयात प्रतिस्थापन हुने अपेक्षा छ,’ उनले आर्थिक अभियानसँग भने ।

नेपालको बजारमा अहिले वार्षिक १० अर्ब रुपैयाँबराबरको कार्पेट खपत भइरहेको अनुमान छ । यसमध्ये अधिकांश परिमाण साउदी अरब, टर्की र यूरोपेली देशबाट आयात भइरहेको छ ।

यो समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्