नुवाकोटको मोबाइल नेटवर्क सुधार्न एक साताभित्र टावर जाँच गर्न निर्देशन
काठमाडौं,कात्तिक १० । जिल्लाको शिवपुरी गाउँपालिकासहित क्षेत्र नं. १ का विभिन्न स्थानमा देखिएको कमजोर मोबाइल नेटवर्क र इन्टरनेट सेवाको समस्या समाधान गर्न एक साताभित्र सञ्चालनमा रहेका टावरहरूको प्राविधिक जाँच गरिने भएको छ।
सूचना तथा सञ्चारमन्त्री एवं नुवाकोट क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमलाई टावरहरूको अवस्था, क्षमता, विद्युत् आपूर्ति र ब्याकअप प्रणाली जाँच गर्न निर्देशन दिएका हुन्।
नेपाली कांग्रेस शिवपुरी गाउँपालिका कार्यसमितिका सभापति प्रह्लाद थापाको नेतृत्वमा गएको टोलीसँगको छलफलपछि मन्त्री तिमिल्सिनाले उक्त निर्देशन दिएका हुन्। टोलीमा सभापति थापासहित सचिव मदन सिटौला, शिवपुरी–४ का कृष्णबहादुर थापा र नवराज भण्डारी तथा शिवपुरी–६ का अच्युत आचार्य सहभागी थिए।
टोलीले शिवपुरीलगायत लिखु र पञ्चकन्या क्षेत्रका नागरिकले लामो समयदेखि कमजोर मोबाइल नेटवर्क र इन्टरनेट सेवाका कारण समस्या भोग्नुपरेको भन्दै मन्त्रीको ध्यानाकर्षण गराएको थियो। विशेषगरी चाडपर्वका समयमा फोन नलाग्ने, बोलेको कुरा नसुनिने र इन्टरनेट नचल्ने समस्याले नागरिक आजित हुँदै आएका छन्।
छलफलका क्रममा नेपाल टेलिकमका प्राविधिक प्रतिनिधिसँग टावरहरूको अवस्था, क्षमता, विद्युत् आपूर्ति र सेवा प्रवाहमा देखिएका समस्याबारे जानकारी लिइएको थियो। विद्युत् आपूर्ति अवरुद्ध हुँदा सञ्चार सेवामा पर्ने प्रभावलाई समेत ध्यानमा राख्दै टावरको भौतिक अवस्था र वैकल्पिक विद्युत् प्रणालीको जाँच गरिने जनाइएको छ।
नेटवर्क समस्याको दीर्घकालीन समाधानका लागि आवश्यकताअनुसार थप टावर स्थापना गर्ने र सञ्चालनमा रहेका टावरहरूको क्षमता वृद्धि गर्ने विषयमा समेत छलफल भएको छ।
मोबाइल नेटवर्क र इन्टरनेट सेवा शिक्षा, स्वास्थ्य, व्यापार, सरकारी सेवा तथा दैनिक जनजीवनसँग प्रत्यक्ष जोडिएकाले समस्या समाधानका लागि भएको पहललाई स्थानीयवासीले सकारात्मक रूपमा लिएका छन्। छलफलमा शिवपुरी गाउँपालिकाको शिक्षा, स्वास्थ्य र सडक पूर्वाधारलगायत समग्र विकासका विषयमा समेत कुराकानी भएको नेपाली काङ्ग्रेस शिवपुरीका सभापति प्रल्हाद थापाले बताउनुभयो ।
एक साताभित्र टावरहरूको प्राविधिक जाँच गरी आवश्यक मर्मतसम्भार तथा क्षमता वृद्धिको प्रक्रिया अघि बढाइएमा आगामी दिनमा मोबाइल नेटवर्क र इन्टरनेट सेवा सहज हुने अपेक्षा गरिएको छ।

