डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाढीपीडित परिवारको दसैँ
नुवाकोट,कात्तिक १० । गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएका आफन्तको डीएनए परीक्षण रिपोर्ट नआउँदा पीडित परिवारले यस वर्षको दसैँसमेत पीडामै बिताएका छन्। आफन्त जीवित छन् वा मृत्यु भइसकेको हो भन्ने यकिन हुन नसक्दा उनीहरू न सामाजिक संस्कार गर्न सकेका छन्, न त मन बुझाउन।
नेपालगञ्ज उपमहानगरपालिका–२० थपुवाका अनलाल रोकायले बाढीमा बेपत्ता भएका दाजु, भाउजु र एक्ला छोराको कुनै अत्तोपत्तो नलाग्दा दसैँ डीएनए रिपोर्टको प्रतीक्षामै बिताउनुपरेको बताए। रसुवा भन्सार कार्यालय टिमुरे क्षेत्रमा कार्यरत उनका ५३ वर्षीय दाजु शेरसिंह रोकाय, ५६ वर्षीया भाउजु विष्णुमती रोकाय र उनीहरूलाई भेट्न तथा गोसाइँकुण्ड दर्शन गर्न पुगेका १९ वर्षीय छोरा दीपक रोकाय बाढीमा बेपत्ता भएका हुन्।
बुढेसकालको सहारा मानिएका एक्ला छोरा र जीवनका आधार बनेका दाजु–भाउजु एकैपटक बेपत्ता भएपछि अनलालको परिवार शोकमा डुबेको छ। दुई महिना बितिसक्दा पनि उनीहरूको अवस्था पत्ता नलागेपछि परिवारमा पीडा थपिएको उनले बताए।
‘बाढीमा हराएका हाम्रा मान्छेको अहिलेसम्म अत्तोपत्तो छैन। यो वर्षको दसैँ डीएनए परीक्षण रिपोर्टको पर्खाइमा बिताउन बाध्य भएका छौँ,’ उनले भने, ‘सास वा लास केही फेला नपर्दा सामाजिक संस्कार गर्नसमेत सकेका छैनौँ।’
अनलालले नेपालगञ्जस्थित भेरी अस्पतालमा बेपत्ता आफन्तको शव पहिचानका लागि डीएनए परीक्षणको नमुना दिएका छन्। रिपोर्ट आएपछि शव पहिचान हुने आशा रहे पनि लामो समयसम्म नतिजा नआउँदा परिवार अन्योलमा परेको उनले बताए। सरकारले डीएनए परीक्षणको नतिजा र बेपत्ता आफन्तको अवस्थाबारे आधिकारिक जानकारी दिनुपर्ने उनको माग छ।
‘हाम्रा मान्छे कतै फर्किहाल्छन् कि भन्ने आशा मर्दै गएको छ। डीएनए रिपोर्ट मिल्छ कि भन्ने झिनो आशा मात्रै बाँकी छ,’ उनले भने, ‘सरकारले आधिकारिक रूपमा मृत वा फेला पार्न नसक्ने गरी बेपत्ता भएको घोषणा गरेपछि मात्रै सामाजिक संस्कार गर्ने सोच बनाएका छौँ।’
बाढीले बेपत्ता बनाएका परिवारको पीडा अनलालको घरमा मात्रै सीमित छैन। रोजीरोटीका लागि रसुवा पुगेका आराम दमाईं र उजना दमाईं पनि सोही बाढीमा बेपत्ता भएपछि उनीहरूका १६ वर्षीय छोरा सुभास नेपाली, ११ वर्षीय छोरा अश्विन र नौ वर्षीया छोरी स्मारिका आमाबुवा फर्किने आशामा दिन बिताइरहेका छन्।
आमाबुवाको अवस्थाबारे कुनै जानकारी नपाएका बालबालिका दिनभर टोलाउँदै उनीहरू फर्किने बाटो हेरिरहन्छन्। जेठा छोरा सुभासले पनि डीएनए परीक्षणको रिपोर्टको प्रतीक्षामा रहेको बताए।
नेपालगञ्ज–२० का कार्यवाहक वडाध्यक्ष चक्रबहादुर बुढाले डीएनए रिपोर्ट नआएकाले पीडित परिवारलाई सान्त्वना दिँदै आएको बताए। उनले बेपत्ताको खोजी जारी राख्न तथा सहाराविहीन बनेका बालबालिकाको पालनपोषण र शिक्षाका लागि आवश्यक समन्वय र सहयोग भइरहेको जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रतीतसिंह राठौरका अनुसार भोटेकोशी बाढीमा बेपत्ता भएका आफन्तको शव पहिचानका लागि बाँकेका १६ जनाको नेपालगञ्जस्थित भेरी अस्पतालमा डीएनए नमुना सङ्कलन गरिएको छ। अन्य आफन्तको काठमाडौं र चितवनस्थित अस्पतालमा नमुना सङ्कलन गरिएको उनले बताए।
बेपत्ता व्यक्तिको पहिचानका लागि पहिलो तहका नातेदार बाबु, आमा, छोरा वा छोरीको ताजा रगतको नमुना सङ्कलन गरी नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको राठौरले जानकारी दिए।
बाढीपछि बाँके जिल्लाका २३ जना अझै बेपत्ता रहेको प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले बताए। उनका अनुसार तीन जनाको शव पहिचान भई मृत्यु घोषणा गरिएको छ भने ३२ जनाको सकुशल उद्धार गरिएको छ।
डीएनए परीक्षणको नतिजा नआउँदा बेपत्ता आफन्तको अवस्था यकिन हुन नसकेको र सामाजिक संस्कारसमेत रोकिएको पीडित परिवारको भनाइ छ। आफन्तको खोजी र पहिचानसँगै उनीहरूको अवस्थाबारे सरकारले स्पष्ट जानकारी दिनुपर्ने माग पीडितले गरेका छन्।

