दसैंमा आएका तीन फिल्मको कमाइ साढे आठ करोडमाथि, ‘आबाट आमा २’ अगाडि



काठमाडौं,कात्तिक १० । दसैंमा प्रदर्शनमा आएका नेपाली फिल्म ‘आबाट आमा २’, ‘छ माया छपक्कै २’ र ‘१२ गाउँ २’ ले कुल ८ करोड ७१ लाख रुपैयाँभन्दा बढी ग्रस कमाइ गरेका छन् । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको कात्तिक ८ गतेसम्मको बक्स अफिस रिपोर्टअनुसार तीनवटै फिल्मको व्यापार अघिल्ला भागको तुलनामा कमजोर देखिएको छ ।

रिपोर्टअनुसार १० दिनमा ‘आबाट आमा २’ ले ४ करोड ११ लाख ४६ हजार रुपैयाँभन्दा बढी कमाउँदै पहिलो स्थान हासिल गरेको छ । त्यस्तै, नौ दिनमा ‘छ माया छपक्कै २’ ले २ करोड ७६ लाख ३९ हजार रुपैयाँभन्दा बढी र १० दिनमा ‘१२ गाउँ २’ ले १ करोड ८३ लाख ९४ हजार रुपैयाँभन्दा बढी कमाइ गरेका छन् ।

चन्द्र पन्त निर्देशित ‘आबाट आमा २’, दीपेन्द्र लामाको निर्देशनमा बनेको ‘छ माया छपक्कै २’ र विराज भट्ट निर्देशित ‘१२ गाउँ २’ ले अघिल्ला भागको सफलताका कारण दर्शकमाझ ठूलो अपेक्षा जगाएका थिए । तर, सुरुआती व्यापारले ती अपेक्षा पूरा गर्न सकेको देखिँदैन ।

शुक्रबारदेखि ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ प्रदर्शनमा आएसँगै तीनवटै फिल्मको शो संख्या घटेको छ । अब बाँकी प्रदर्शन अवधिमा यी फिल्मले व्यापार कति बढाउन सक्छन् भन्ने चासो रहेको छ ।

प्रतिक्रिया दिनुहोस्