बाढी प्रभावितको पुनःस्थापनामा विदुर नगरपालिका र रेडक्रसको साझेदारी, त्रिशूली अस्पतालमा एमआरआई सेवा आउने
नुवाकोट, कात्तिक १० । गत भदौ १० गते ल्हेन्देखोलाबाट रसुवागढी हुँदै भोटेकोशी र त्रिशूली नदीमा मिसिएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको पुनर्लाभ तथा पुनःस्थापनाका लागि विदुर नगरपालिका र नेपाल रेडक्रस सोसाइटीबीच साझेदारी सुरु भएको छ। साझेदारीअन्तर्गत त्रिशूली अस्पतालमा एमआरआई मेसिन उपलब्ध गराउनेसमेत समझदारी भएको छ।
बाढी प्रभावित समुदायको तत्कालीन मानवीय आवश्यकता पूरा गर्नुका साथै आवास, खानेपानी, स्वास्थ्य, जीविकोपार्जन र आर्थिक पुनर्लाभमा सहयोग गर्ने उद्देश्यले सम्झौता गरिएको हो। यसबाट नुवाकोटसहित रसुवा र धादिङको उत्तरी भेगका नागरिकले लाभ पाउने अपेक्षा गरिएको छ।
विदुर नगरपालिका, अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट महासंघको नेपाल प्रतिनिधिमण्डल र नेपाल रेडक्रस सोसाइटी नुवाकोटबीच भएको सहकार्यअनुसार त्रिशूली अस्पतालमा एमआरआई सेवा सञ्चालनका लागि प्रक्रिया अघि बढाइएको हो। सेवा सञ्चालनमा आएपछि जटिल रोगको पहिचान तथा उपचारका लागि काठमाडौंलगायत टाढाका अस्पताल धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।
विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने तथा बाढी प्रभावित क्षेत्रको पुनःस्थापनालाई प्रभावकारी बनाउने उद्देश्यले साझेदारी सुरु गरिएको बताए। त्रिशूली अस्पतालमा एमआरआई सेवा सञ्चालनले स्थानीयस्तरमै जटिल रोगको परीक्षण तथा उपचारमा सहजता ल्याउने विश्वास गरिएको अस्पतालका अध्यक्ष उपेन्द्र बुढाथोकीले बताए।
सम्झौताअनुसार बाढीका कारण बेपत्ता भएका परिवारका एकल महिला, अनाथ बालबालिका तथा ज्येष्ठ नागरिक भएका परिवारलाई प्रतिपरिवार एक लाख रुपैयाँ सहयोग उपलब्ध गराइनेछ। त्यस्तै, दुई हजार घरधुरीलाई बहुउद्देश्यीय नगद सहायता, एक हजार परिवारलाई जीविकोपार्जन पुनःस्थापना सहायता र स्थायी आवासको व्यवस्था नभएसम्म दुई हजार घरधुरीलाई घरभाडा सहयोग गरिनेछ। थप ६ सय घरधुरीका लागि संक्रमणकालीन आवासको व्यवस्था गर्ने सम्झौतामा उल्लेख छ।
खानेपानी सेवाको पुनःस्थापनालाई पनि प्राथमिकतामा राखिएको छ। बाढीबाट प्रभावित विदुर खानेपानी आयोजनाको साढे सात किलोमिटर पाइपलाइन मर्मत गरिनेछ। साथै, विदुर, बुधसिंहघाट, सिर्खाली र महारानीडिही क्षेत्रमा करिब ३० हजार जनसंख्या लाभान्वित हुने गरी खानेपानी प्रणालीको मर्मत तथा पुनःस्थापना गरिनेछ।
सम्झौतामा आधारभूत तथा आपत्कालीन स्वास्थ्य सेवा, स्वास्थ्य तथा सामाजिक पूर्वाधारको पुनर्निर्माण, विद्यालय तथा शैक्षिक पूर्वाधारको पुनःस्थापना, शिविर व्यवस्थापन र प्रभावित नागरिकलाई आवश्यक सहयोग गर्ने कार्यक्रमसमेत समेटिएका छन्। विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी र समुदायको उत्थानशीलता अभिवृद्धिका क्षेत्रमा पनि सहकार्य गरिनेछ।
सम्झौतापत्रमा विदुर नगरप्रमुख राजन श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटीका महामन्त्री ऋषिरमण खनाल, अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट महासंघका नेपाल प्रमुख डेभिड फिसर र नुवाकोट रेडक्रसका सभापति हरि श्रेष्ठले हस्ताक्षर गरेका छन्।
समझदारीअनुसारका कार्यक्रमको समन्वय, अनुगमन तथा समीक्षा गर्न नगरप्रमुख वा उनले तोकेको प्रतिनिधिको संयोजकत्वमा संयुक्त समन्वय तथा कार्यक्रम सञ्चालन समिति गठन गरिनेछ।
नगरप्रमुख श्रेष्ठले रेडक्रसको सहयोग र सक्रियताले बाढी प्रभावित क्षेत्रको पुनःस्थापना तथा नागरिकको सहज जीवनयापनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे। रेडक्रसका महामन्त्री खनालले प्रभावित नागरिकलाई बहुपक्षीय सहयोग उपलब्ध गराउन संस्था निरन्तर सक्रिय रहने बताउँदै कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तह र रेडक्रसका संरचनाबीच समन्वय आवश्यक रहेकोमा जोड दिए।

