प्रधानमन्त्री ओलीले भने : पञ्चायती तानशाहीसँग घुँडा टेकिनँ, अब त घुँडा टेक्नुपर्ने अवस्था नै छैन



चितवन माघ १७ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले निरंकुश पञ्चायती तानाशाही र निरंकुश राजतन्त्रसँग घुँडा नटेकेको भन्दै अब घुँडा टेक्नुपर्ने कुनै आवश्यकता नरहेको बताएका छन्। चितवनको भरतपुरमा आयोजित जनसभालाई सम्बोधन गर्दै ओलीले कसैसँग घुँडा नटेकी नेपालको स्वाभिमानलाई माथि उठाइने बताए।

‘म आग्रह गर्न चाहन्छु तपाईंहरूले धोका पाउनुहुन्न। तपाईंहरूको अगुवाइ, देशको सार्वभौमिकताको रक्षा, राष्ट्रिय हितको रक्षा, देशको स्वाधिनताको सही अर्थमा रक्षा र प्रयोग, देशको भूगोलको रक्षा अहिलेको पार्टी, नेतृत्व र सरकारले गर्नेछ,’ उनले भने, ‘त्यसको अगुवाइ मैले गर्नेछु, ढुक्क हुनुहोस्।’

उनले आगामी वैशाखमा निर्वाचन भएरै छाड्ने बताए। ‘कतिपयले भ्रम फिँजाएका छन् यो चुनावको घोषणा चुनाव गराउनका लागि होइन, अल्मल्याउनका लागि हो भनेर। तिनीहरू अल्मलिँदै गरून्, चुनाव हुन्छ घोषणा गरिएकै मितिमा’, उनले भने, ‘अब कुनै गल्ती नगरिकन देशका निम्ति काम गर्ने, विदेशीसँग साइनो नभएका त्यस्ता व्यक्तिहरूलाई छानेर पठाउनुपर्छ। नाबी गएर विदेशमा गाडिएकाहरूलाई अब छान्न हुँदैन।’

उनले गफ प्रेमीलाई नभई विकास प्रेमीलाई जिताएर पठाउन आग्रह गरे। प्रधानमन्त्री ओलीले आफ्नो मन्तव्यका क्रममा चितवनबाट निर्वाचित सांसददेखि मेयरसम्मलाई व्यंग्य गर्न भ्याए।चितवनबाट निर्वाचन लडेका पुष्पकमल दाहाल ‘प्रचण्ड’को चुनाव प्रचारका लागि माडी पुगेर आफूले ‘माडीलाई मणि बनाउने’ उद्घोष गरेको भन्दै उनले भने, ‘तपाईंहरूले छानेर पठाएको नेता नै कुहिएको आलु परेपछि मैले के गरौं।’ उनले मतपत्र च्यातेर जिताएको मेयरले आफू सहभागी भएको कार्यक्रम बहिस्कार गर्दैमा फरक नपर्ने बताए। ‘संघीय सरकारको बजेटमा बनेको योजनाको शिलान्यास गर्न म यहाँ आएको हुँ,’ उनले भने, ‘कसैको विरोधले विकास रोकिँदैन।’

उनले केही वर्षभित्रै जनताले अनुभूति गर्नेगरी देश विकास हुने बताए। आत्मविश्वासका साथ अघि बढ्न कार्यकर्तालाई आग्रह गर्दै उनले कोभिडलाई परास्त गर्दै देश विकासशील राष्ट्र बन्ने दाबी गरे।जनसभाअघि उनले भरतपुरमा बन्दै गरेको सिटी हल र पूर्व–पश्चिम राजमार्गको पुल्चोक–गोद्राङ सडक खण्डलाई ६ लेनमा विस्तार गर्ने योजनाको शिलान्यास गरेका थिए।

प्रतिक्रिया दिनुहोस्