‘सर्वोच्च अदालतको फैसला कुरिरहेका छौं



कैलाली, माघ १८ । नेकपाको एक खेमाका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुईतिहाइले कारबाही गर्न सकिने बताएका छन्। ‘नेकपा, कांग्रेस र मधेसवादी दलहरू मिलेर ओलीलाई दुईतिहाइले कारबाही गर्न सकिन्छ’, आफू नेतृत्वको पार्टीको सुदूरपश्चिम कमिटीले शनिबार धनगढीमा आयोजना गरेको बृहत् विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भने, ‘तर, हामी सर्वोच्च अदालतको फैसला कुरिरहेका छौं।’ दाहालले सर्वोच्च अदालत संविधानको अन्तिम व्याख्याता भएकाले सही फैसला गर्नेमा आफू विश्वस्त रहेको बताए।

उनले सम्बोधनको सुरुमै अर्का अध्यक्ष माधवकुमार नेपालसँगको मित्रताबारे उल्लेख गरेका थिए। ‘तपाईंहरूलाई लाग्दो होला, प्रचण्ड र माधव नेपालको दोस्ती भर्खरै भएको हो। यिनको चिनजान पनि भर्खरै भएको हो’, उनले भने, ‘त्यसो सोच्नुभएको छ भन त्यो गलत हो। हाम्रो दोस्ती ४० को दशकदेखि हो।’

उनले लोकतान्त्रिक गणतन्त्रको आन्दोलन, जनयुद्धका बेला आफ्नो सबैभन्दा बढी भटेघाट र संवाद हुने व्यक्ति नेपाल भएको बताए। ‘जनयुद्धका बेला पनि हामीबीच सबैभन्दा बढी संवाद हुन्थ्यो, भेटघाट हुन्थ्यो’, उनले भने, ‘त्यसको परिणाम नै १२ बुँदे हँुदै लोकतान्त्रिक गणतन्त्रका लागि आन्दोलन र त्यसपछि संविधान बन्यो।’

उनले नेपाललाई ओलीले जहिले पनि हेपेको आरोप लगाए। ‘यसरी कसरी पार्टी चल्थ्यो रु’, उनले भने, ‘म बालुवाटार गएको देखेर धेरैलाई रिस पनि उठ्यो होला। बिहान बालुवाटार, बेलुकी बालुवाटार, तर केपी ओली बालुवा हुनुहुँदो रहेछ। बालुवा पेलेर तेल निस्किँदैन भन्ने कुरा बुझें।’

आलोपालोअनुसार विरोधसभामा प्रमुख अतिथि रहेका अर्का अध्यक्ष माधवकुमार नेपालले ओलीको पतनको बाटो सुरु भएको बताए। ‘ओलीको पतन निश्चित रहेको कुरा तपाईंहरूको उपस्थितिले देखाइदिएको छ’, अध्यक्ष नेपालले भने। नेपालले निर्वाचन आयोगको हालैको एक आदेशले ओलीलाई हिस्स बनाएको टिप्पणी गरे।

यो समाचार अन्नपूर्ण पोस्ट् दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्