‘श्री ५ को सरकार’ भनेकोमा माफी मागे खानेपानी मन्त्रीले



काठमाडौं माघ १८ । नवनियुक्त खानेपानी तथा सरसफाइमन्त्री मणिचन्द्र थापाले एउटा सभामा सम्बोधनका क्रममा ‘श्री ५ को सरकार’ भनेकोमा क्षमायाचना गरेका छन् ।

केपी शर्मा ओली नेतृत्वको नेकपा नेता रहेका मन्त्री थापाले सुर्खेतमा शनिबार आयोजित सभामा ‘नेपाल सरकार’ भन्नुपर्नेमा ‘श्री ५ को सरकार’ भनेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले भनेका थिए, ‘सबैलाई सम्मान गर्न चाहन्छु जो मञ्चमा आसीन हुनुहुन्छ । र सुर्खेतका आदरणीय जनसमुदायहरु म सबैलाई नेकपा स्थायी समितिको तर्फबाट र श्री ५ को सरकारको तर्फबाट यो कार्यक्रममा…ए सरी नेपाल सरकारको तर्फबाट यो कार्यक्रममा तपाईंहरुलाई लाल सलाम भन्न चाहन्छु ।’

मञ्चमा रहेका व्यक्तिले मन्त्री थापालाई नेपाल सरकार भन्न लगाएपछि उनले ‘ए सरी भन्दै नेपाल सरकारको तर्फबाट’ भनेका थिए । मन्त्री थापाले श्री ५ को सरकार भनेपछि उनको भिडियो सामाजिक सञ्जालमा भाइरल नै भएको छ । सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि आइतबार बिहान मन्त्री थापाले स्पष्टीकरण दिँदै क्षमा मागेका छन् ।

प्रतिक्रिया दिनुहोस्