प्रधानमन्त्रीलाई आफ्नैबाट घात भयो: उपप्रधानमन्त्री पोखरेल


नुवाकोट, माघ २० : उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकार बनेको सुरुवाती समयदेखि नै पार्टीका अर्काे समूहले प्रधानमन्त्री ओलीको नेतृत्व असफल बनाउन लागी परेको बताएका छन् । सोमबार नुवाकोटको बट्टार बजारमा भएको नेकपाको जिल्लास्तरीय बृहत् कार्यकर्ता भेलालाई सम्बोधनका क्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय सदस्य पोखरेलले सानातिना समस्यालाई पाखा लगाएर पार्टी एकीकरण नै गराउन प्रधानमन्त्री केपी शर्मा ओली सफल भए पनि असहयोग मात्र मिलेको टिप्पणी गरे ।
कार्यक्रममा अर्का अतिथि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले देशलाई अराजकतातर्फ लैजाने प्रवृत्तिलाई परास्त गर्नका अबको चुनावले फलदायी भूमिका निर्वाह गर्ने बताए। उनले त्यसैका निम्ति प्रधानमन्त्री ओलीलाई आफूले साथ दिएको समेत उल्लेख गरे ।
प्रधानमन्त्री ओलीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमालले विदेशी उक्साहटबाट नै पार्टीभित्र अहिलेको विग्रह आएको बताए । उनले अर्काे समूह पैसा, पद र परिवारमा सीमित भएको जनाउँदै प्रतिस्पर्धा र क्षमताका आधारमा पद पाउनेभन्दा पनि कागताली र अपुतालीमा पद पाउनेबाट केही उपलब्धि नहुने र कम्युनिष्ट आन्दोलन सफल नहुने बताए।