कोरोना त्रास घटेसँगै आउन थाले विदेशी पर्यटक



काठमाडौं,फागुन ३ । कोरोना महामारीको त्रास कम हुँदै गएपछि नेपालमा पछिल्लो समय विदेशी पर्यटकको आगमन हुन थालेको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण र त्यसलाई नियन्त्रण गर्न नेपाल सहितका विभिन्न मुलुकमा लगाइएको लकडाउन (बन्दाबन्दी)का कारण गत चैतदेखि विदेशी पर्यटकको आगमन नगन्य थियो । तर, कोरोना त्रासकै बीच सरकारले गत कात्तिक १ गतेदेखि पर्यटन आगमन खुला गरेपछि नेपालमा विदेशी पर्यटक आउन थालेका हुन् ।

पछिल्ला महिनामा विदेशी पर्यटक आगमन बढ्दै गएको छ । सरकारले पर्यटन आगमन खुला गरेपछि अक्टोबरमा २ हजार २५ जना विदेशी पर्यटक आएका थिए । त्यसपछि नोभेम्बरमा थोरै संख्याले घटेर १ हजार ९५३ जना आए पनि त्यसपछि भने बढ्दै गएका हुन् । डिसेम्बरमा ४ हजार २४५ जना आएकोमा २०२१ जनवरीमा ८ हजार ८७४ जना विदेशी पर्यटक आएको नेपाल पर्यटन बोर्डको तथ्यांक छ । यस वर्षको जनवरीमा नेपाल आएका विदेशी पर्यटकको संख्या गतवर्षको सोही अवधिको भन्दा अत्यधिक कम हो । २०२० जनवरीमा ७९ हजार ७०२ जना विदेशी पर्यटक नेपाल आएका थिए । तर, कोरोना कहरकै बीच अहिले भएको पर्यटक आगमनलाई महŒवका साथ हेरिएको बोर्डले बताएको छ । सामान्य अवस्थामा मासिक ८० हजारदेखि १ लाखसम्म विदेशी पर्यटक आउने नेपाल गर्छन् । समग्रमा कोरोना महामारीका कारण नेपालमा पर्यटन क्षेत्र नराम्ररी प्रभावित भएको थियो । तर, अब पर्यटक आउन थालेपछि क्षेत्र विस्तारै पुनरुउत्थान हुने अपेक्षा गरिएको छ ।

नेपाल पर्यटक बोर्डकी वरिष्ठ निर्देशक नन्दिनी थापाले पछिल्ला महीनामा विदेशी पर्यटकको आउने क्रम बढेको बताइन् । कोरोना महामारी सामान्य हुँदै गएपछि बाह्य पर्यटकको आगमन बढ्न थालेको उनको भनाइ छ । ‘पछिल्लो समय विभिन्न मुलुकमा कोरोना खोप लगाउत पनि शुरू भइसकेको छ । साथै, मास्क, सेनिटाइजरको प्रयोग लगायत स्वास्थ्य सुरक्षा अपनाएर पनि कोरोनाबाट बच्न सकिन्छ भन्ने छ,’ उनले भनिन्, ‘यस्ता कारणले पनि पछिल्लो समय विदेशी पर्यटकको आगमन बढेको छ ।’ पछिल्लो समय विदेशी पर्यटन व्यवसायी एजेन्सीहरूले नेपालका पर्यटन गन्तव्यहरूको प्रचार प्रसार गरेकाले समेत यसमा टेवा पुगेको उनको बुझाइ छ ।

यो समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्