भक्तपुरमा तालिमप्राप्त सैनिक कुकुरको कला प्रदर्शनी



भक्तपुर, कात्तिक २२– यमपञ्चकको दोस्रो दिन आज मुलुकभर नरक चतुर्दशी एवं कुकुर तिहार मनाइएको छ। कुकुर तिहारका अवसरमा भक्तपुरको सानोठिमीस्थित श्री भैरव वाहन गुल्ममा तालिमप्राप्त कुकुरबाट विभिन्न सैनिक कला प्रदर्शनी तथा सांस्कृतिक प्रस्तुति गरिएको छ।

प्रदर्शनीमा तालिमप्राप्त कुकुरहरूले दौड प्रतियोगिता, बेपत्ताको खोजी, शङ्कास्पद वस्तुको निगरानी तथा पहिचान, अपराधीको गन्धका आधारमा खोजी र उच्च जम्पलगायतका कला प्रदर्शन गरेका थिए। गुल्ममा रहेका सबै कुकुरको एकैसाथ पूजा गरी कुकुर तिहार मनाइएको थियो।

कार्यक्रममा नेपाली सेनाका उपरथी हरेन्द्र पाठकले कुकुरलाई कर्तव्यनिष्ठ र इमान्दार जनावरका रूपमा लिइने तथा भैरवको वाहनका रूपमा पूजिने बताउनुभयो। उहाँले कुकुरमा मानिसको तुलनामा एक लाख गुणा बढी सुँघ्ने क्षमता रहेको उल्लेख गर्दै विभिन्न अपराधका घटनामा तालिमप्राप्त कुकुरको प्रयोगबाट अनुसन्धानमा सहयोग पुग्ने बताउनुभयो।

गुल्मपति सेनानी निज महराले गुल्मको जिम्मेवारी, अतिविशिष्ट व्यक्तिको सवारी तथा कार्यक्रमपूर्व सम्भावित दुर्घटनाबारे सूचना सङ्कलन गर्न कुकुर परिचालन गरिने जानकारी दिनुभयो। उहाँले विभिन्न घटनाको अनुसन्धानमा तालिमप्राप्त कुकुरको प्रयोगबाट अपनाइने विधि र प्रक्रियाबारे पनि जानकारी गराउनुभएको थियो।

नेपाली सेनाको श्री भैरव वाहन गुल्म २०६० साल वैशाख १ गते स्थापना भएको हो। यस गुल्मले संयुक्त राष्ट्रसङ्घको शान्ति मिसनमा समेत कुकुर परिचालन गर्दै आएको छ। हराएका हतियार फेला पार्न, बेपत्ता नागरिकको खोजतलास गर्न तथा भूकम्प र प्राकृतिक विपद्मा पुरिएका व्यक्तिको उद्धारमा समेत तालिमप्राप्त कुकुरको प्रयोग हुँदै आएको छ।

हिन्दु धार्मिक परम्पराअनुसार कुकुरलाई यमराजको दूत तथा भैरवको वाहनका रूपमा मानिन्छ। यमलोकका द्वारपाल श्याम र सबल नामका कुकुरलाई प्रसन्न पार्दा यमलोक जाने बाटो सहज हुने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने प्रचलन रहेको छ। कुकुरलाई आज्ञापालक, अनुशासित, कर्तव्यनिष्ठ र सुरक्षाका लागि भरपर्दो जनावरका रूपमा समेत लिइन्छ।

प्रतिक्रिया दिनुहोस्