लक्ष्मीपूजामा विद्युत्‌को आन्तरिक माग १ हजार ८१३ मेगावाट, ५८७ मेगावाट निर्यात



काठमाडौं,कात्तिक २२ । यस वर्षको लक्ष्मीपूजाका दिन देशभर विद्युत्‌को आन्तरिक माग १ हजार ८१३ मेगावाट पुगेको छ। आन्तरिक माग पूरा गरेर नेपालले ५८७ मेगावाटभन्दा बढी विद्युत् भारततर्फ निर्यात गरेको छ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार आइतबार साँझ ६ः१५ बजे विद्युत्‌को आन्तरिक माग उच्च विन्दुमा पुगेको हो। उक्त समयमा नेपालको कुल विद्युत् उत्पादन २ हजार ४००.३० मेगावाट रहेको थियो। आन्तरिक खपतपछि बचत भएको ५८७.३० मेगावाट विद्युत् भारततर्फ निर्यात गरिएको प्राधिकरणले जनाएको छ।

लक्ष्मीपूजाको साँझ निजी क्षेत्रका जलविद्युत् आयोजनाबाट सबैभन्दा बढी १ हजार ५३६.५० मेगावाट विद्युत् उत्पादन भएको थियो। प्राधिकरणका सहायक कम्पनीबाट ४९९.२० मेगावाट, नदी प्रवाहमा आधारित तथा अर्धजलाशययुक्त आयोजनाबाट ३४२.३० मेगावाट र जलाशययुक्त आयोजनाबाट २२.३० मेगावाट विद्युत् उत्पादन भएको थियो।

यस अवधिमा भारतबाट विद्युत् आयात गर्नुपरेन भने तापीय आयोजनासमेत सञ्चालनमा आएनन्। विद्युत् प्रणालीको उच्चतम भार २ हजार ४००.३० मेगावाट पुगेको थियो।

काठमाडौं उपत्यकामा पनि विद्युत्‌को माग उल्लेख्य बढेको छ। लक्ष्मीपूजाको समयमा उपत्यकाको उच्चतम माग ४८९.५० मेगावाट पुगेको प्राधिकरणले जनाएको छ। पिक आवरमा विद्युत् प्रणालीको आवृत्ति ५०.१२० हर्ज रहेको थियो भने प्रणालीमा कुनै अवरोध देखिएन।

विगत तीन वर्षको तथ्यांकले लक्ष्मीपूजाका दिन देशभर र काठमाडौं उपत्यकामा विद्युत्‌को माग निरन्तर बढ्दै गएको देखाएको छ। विसं २०८२ कात्तिक ३ गतेको लक्ष्मीपूजामा राष्ट्रिय माग १ हजार ७४५ मेगावाट र उपत्यकाको माग ४०२.४९ मेगावाट रहेको थियो। उक्त समयमा कुल उत्पादन २ हजार ७६० मेगावाट हुँदा १ हजार १५ मेगावाट विद्युत् निर्यात गरिएको थियो।

त्यसअघि विसं २०८१ कात्तिक १५ गतेको लक्ष्मीपूजामा राष्ट्रिय विद्युत् माग १ हजार ६०२.२० मेगावाट र काठमाडौं उपत्यकाको माग ३८०.५० मेगावाट रहेको थियो। उक्त दिन कुल १ हजार ८५५ मेगावाट विद्युत् उत्पादन हुँदा २५२.९० मेगावाट निर्यात गरिएको प्राधिकरणको अभिलेखमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्