‘स्प्रिङ सिजन’का लागि पर्वतारोहणको पूर्वअनुमति जारी



काठमाडौं,फागुन ६ । नेपालको पर्वतीय पर्यटनका लागि उपयुक्त र चर्चित मानिने स्प्रिङ सिजन (वसन्त ऋतु)मा हिमाल आरोहण गर्नेहरूले सिजन शुरू नहुँदै प्रि–परमिट (पूर्वअनुमति) माग गरेका छन् । सगरमाथा सहितका विभिन्न चारओेटा हिमाल आरोहण गर्नेे नेपाल र भारतका गरी पाँच दललाई पर्यटन विभागले पूर्वअनुमति जारी गरिदिएको हो । २०२१ को स्प्रिङ सिजन आगामी मार्च २० देखि शुरू हुँदै छ ।

आरोहणका लागि आवश्यक पर्ने सामग्री ल्याउन तथा तयारी गर्न पूर्वअनुमति देखाउनुपर्ने भएमा विभागमा निवेदन र आवश्यक राजस्व बुझाउनुपर्ने हुन्छ । भारतका चार दलका १२ जना र नेपालको एउटा दलबाट तीन जनाले (सगरमाथा आरोहणका लागि) पूर्वअनुमति पाएको विभागका एक अधिकारीले जानकारी दिए । उनका अनुसार भारतका दुईजनाले सगरमाथा, चार जनाले नुप्त्से हिमाल, दुईजनाले लोत्से र चारजनाले पुमोरी हिमाल आरोहणका लागि पूर्वअनुमति पाएका हुन् ।

ती पर्वतारोहीले राजस्व विभागमा २ लाख २२ हजार बुझाएको र नेपाली आरोहीले भने १२ हजार २५० राजस्व बुझाएर पूर्वअनुमति लिएको उनले बताए । विन्टर सिजनमा नेपालको हिमाल आरोहण गरेका भारतीयले नै अहिले दल बनाएर यी हिमाल आरोहणका लागि पूर्वअनुमति माग गरेका थिए । सगरमाथा आरोहण गर्नेले पूर्वअनुमतिको स्वीकृति लिनुअगावै ५ प्रतिशतसम्म राजस्व तिर्नुपर्छ भने अन्य हिमाल तथा पीक आरोहण गर्नेले कुल आरोहण संख्याबाट हुने खर्चको १० प्रतिशतसम्म राजस्व बुझाउनुपर्ने प्रावधान छ ।

अग्रिम रूपमा राजस्व नतिरे पूर्वअनुमति नपाइने विभागका अधिकारीले जानकारी दिए । पर्वतारोहणका लागि सबैभन्दा महŒवपूर्ण सिजन नै स्प्रिङ हो । कोरोना महामारीकै बीच अटम र विन्टर सिजनमा हिमाल तथा पीक आरोहण गर्नेको सहभागिता अन्य वर्षको भन्दा सकारात्मक देखिएसँगै स्प्रिङ सिजनमा पनि पर्वतारोहीको बढ्ने अपेक्षा पर्यटन विभाग र व्यवसायीको छ ।

स्प्रिङ सिजनपूर्वका यी दुईमध्ये विन्टर सिजनलाई पर्वतारोहणको अफ सिजन मानिन्छ । यद्यपि यो सिजनमै विगत वर्षभन्दा धेरै आरोहीले सफल आरोहण गरेका छन् । यसबाट पनि स्प्रिङ सिजनमा पर्वतारोहीको संख्या केही बढ्ने विश्वास विभागका अधिकारीले गरेका छन् ।

कोभिडका कारण २०२० को स्प्रिङ सिजनमा पर्वतारोहणमा जानेको संख्या शून्य रह्यो । यो वर्षको सिजनमा पनि कोभिडका कारण मानिसको क्रयशक्ति कम भएकाले महँगो मानिने पर्वतारोहणका लागि पर्यटक नआउने एक किसिमको आकलन गरिएको थियो । तर पूर्वअनुमति लिइसकेका र अहिले पनि विभिन्न देशका कम्तीमा २०० जना पर्वतारोहीले नेपालमा पर्वतारोहणका लागि व्यवसायी तथा विभागमार्फत चासो राखेका छन् ।

सन् २०१९ अघि स्प्रिङ सिजनमा हुने आरोहण संख्या भने २०२१ मा नहुने स्पष्ट देखिएको छ । विभागका अनुसार २०१९ को स्प्रिङ सिजनमा मात्रै ८८९ जनाले नेपालका हिमाल आरोहण गरेका थिए । तर, यो वर्षको सिजनमा उक्त संख्यामा पर्वतारोही नआउने र विगत वर्षमा जस्तै हुन अझै अर्काे सिजनसम्म पर्खनुपर्ने देखिन्छ । २०२० को स्प्रिङ सिजनमा पर्वतारोहीको संख्या शून्य रहे पनि अन्य सिजनमा भने २६ दलबाट १२७ जनाले पर्वतारोहण गरेका थिए । २०१९ का चारओटै सिजनमा २९६ दलबाट २ हजार २०० जनाले हिमाल तथा पीक आरोहण गरेको विभागको तथ्यांकले देखाउँछ ।

यो समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्