पर्यटन प्रडक्ट र गन्तव्य बढाउनैपर्ने दबाब



क्वारेन्टाइनको व्यवस्था तुरुन्त हटाउनुपर्छ : पर्यटन व्यवसायी

काठमाडौैं,फागुन ७ । पर्यटन प्रडक्ट र गन्तव्यको विस्तार तथा विविधीकरण गर्नैपर्ने दबाबमा नेपाल रहेको सरोकारवालाहरूले बताएका छन् । ब्राण्डिङ भइसकेका पर्यटकीय गन्तव्यहरू काठमाडौं, पोखरा, चितवनबाहेक अन्य गन्तव्य र एड्भेन्चर, टे«किङ लगायत प्रडक्ट सीमित रहेको भन्दै उनीहरूले यसलाई बढाउनुपर्ने आवश्यकता औंल्याएका हुन् ।

नेपाल पर्यटन बोर्ड (एनटीबी)ले बिहीवार आयोजना गरेको कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनञ्जय रेग्मीले सीमित प्रडक्ट तथा गन्तव्य बढाउनै चुनौती रहेको बताए । बोर्डमा १ वर्षको कार्यकाल पूरा गरेका उनले कोरोना महामारीपछि पर्यटन प्रवद्र्धनका योजनाको कार्यपत्र प्रस्तुत गर्दै सिजनमा आधारित पर्यटन व्यवसायलाई परिवर्तन गर्न र एक–दुई दिन बस्ने पर्यटकको बसाइ अवधि लम्बाउनेतर्फ पनि काम गर्न आवश्यक भएको बताएका हुन् ।

‘कोभिडका कारण पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित भएको छ,’ उनले भने, ‘अब पर्यटन विभागले पर्यटकीय पूर्वाधार बनाउने र बोर्डले राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा मुलुकको पर्यटन प्रवद्र्धनको मात्रै काम गर्नेगरी बोर्डको संरचना नै परिवर्तन गर्न आवश्यक देखिएको छ ।’ कोरोना महामारीबाट पर्यटन क्षेत्रमा भएको क्षतिलाई पूर्ति गर्न नेपालसँग दुईओटा मात्र विकल्प रहेको उनले बताए । नेपालमा पर्यटक बढाउन स्थलमार्गबाट आउने पर्यटकलाई सहजीकरण गर्नुपर्ने वा पोखरा र गौतमबुद्ध विमानस्थल छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन जरुरी रहेको उनको भनाइ छ । उक्त अवसरमा पर्यटन व्यवसायी विशेष श्रेष्ठले आउन चाहने पर्यटक पनि सरकारको स्पष्ट नीति नहुँदा आउन नसकेको भन्दै सरकारले जारी राखेको क्वारेन्टाइनको अवस्था तुरुन्त हटाउन माग गरे । सरकारले हजारौं मानिसको भीड गर्दा कोरोना संक्रमणको डर नहुने, तर पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ भई नेपालमा आउँदा र नेपालमा पनि परीक्षण गर्दा कोरोना नेगेटिभ आए पनि तुरुन्त गन्तव्यमा जान नसक्ने व्यवस्थाले पर्यटन क्षेत्र नै जटिल अवस्थामा पुगेको टिप्पणी उनले गरे । पर्यटनमा तथ्यांकको अभाव भएको भन्दै बोर्डले त्यसलाई न्यूनीकरण गरी गन्तव्य, विशेषतालगायत विषयलाई केन्द्रित गरी पर्यटन योजनाका लागि डिजिटल डेटाबेस कार्यक्रम लागू गर्ने तयारी गरिएको जानकारी दिएको छ ।

नेपालको पर्यटनमा नयाँ पूर्वाधारको विकास विस्तार तथा क्षेत्रगत रूपमा हिमालमा आरोहण तथा ट्रेकिङ, पहाडमा हिलस्टेशन सहितको पर्यटकीय हब र तराईमा क्यासिनो सहितका पर्यटकीय पूर्वाधार तथा गतिविधि विस्तार गर्ने दीर्घकालीन योजना पनि बोर्डले अघि सारेको छ । पर्यटन प्रवद्र्धनका लागि बोर्डले पहिलो ३ महीना विश्व समुदायलाई ‘नेपाल खुला छ’ भन्ने सन्देश प्रभाव गर्ने, दोस्रो ३ देखि ६ महीनामा पर्यटन क्षेत्रले आफूलाई पूर्णरूपमा तयार राख्ने र ६ महीनापछि पुरानै अवस्थामा फर्किने गरी रणनीति बनाउनेतर्फ सरोकारवालासँग आवश्यक सहकार्य गरेको जानकारी दिइएको छ ।

यो समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्