नुवाकोटमा जारी वाग्मती प्रदेश लिगमा मकवानपुरको विजय सुरुवात



नुवाकोट,फागुन १० । नुवाकोटमा जारी वाग्मती प्रदेश लिग फुटबल प्रतियोगितामा मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगिता विजेता डाँफे युवा क्लबले विजय सुरुवात गरेको छ ।

जिल्ला लिग विजेता क्लबहरुको सहभागिता रहेको यस प्रदेश लिगमा मकवानपुरको डाँफे क्लबले काभ्रेलाई ३–१ गोल अन्तरले हराउँदै विजय सुरुवात गरेको हो ।

डाँफेको तर्फबाट शनिराज थोकरले २ र राजेश स्याङ्तानले १ गोल गरेका थिए । काभ्रेको तर्फबाट राजेश थापाले एक गोल फर्काएपनि हारबाट जोगाउन सकेनन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा सञ्चालन भैरहेको प्रतियोगितामा बागमती प्रदेशको मकवानपुरसहित १० जिल्लाको फुटबल टिमको सहभागिता रहेको छ ।

नुवाकोटको आदर्श बहुमुखी क्याम्पसको खेलमैदान बट्टारमा बिहीबारबाट सुरु भएको प्रतियोगितामा बागमती प्रदेशको भक्तपुर, रसुवा र रामेछाप बाहेकका १० जिल्लाले सहभागिता जनाएको छ ।

फागुन १४ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले नगद २ लाख ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्