सुरक्षा संयन्त्र ‘हाइ अलर्ट’मा



काठमाडौं, फागुन १२ । प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलासँगै सुरक्षा निकायलाई ‘हाइ अलर्ट’ मा राखिएको छ । सर्वोच्चको संसद् पुनस्र्थापना गर्ने निर्णयपछि नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा माधवकुमार नेपाल समूहबाट हुन सक्ने प्रदर्शन र दुई समूहका नेता कार्यकर्ताबीच हुन सक्ने सम्भावित झडपको आँकलनसहित सुरक्षा निकायलाई हाइ अलर्टमा राखिएको हो ।

त्यसका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले आवश्यक तयारी गरिसकेका छन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) हरिबहादुर पालले सम्भावित चुनौतीलाई मूल्यांकन गरेर सुरक्षा सर्तकता बढाइएको जानकारी दिए ।

‘सम्भावित चुनौतीलाई मूल्यांकन गरेर सुरक्षा सर्तकता बढाइएको छ, प्रदर्शन हुने स्थानमा सुरक्षाकर्मीलाई हाइ अलर्टमा रहन निर्देशन दिइसकिएको छ,’ एआइजी पालले भने ।

प्रहरीले काठमाडौंको माइतीघर मण्डला, शान्तिवाटिका, नयाँ बानेश्वर, भृकुटीमण्डप क्षेत्रमा प्रदर्शन हुनसक्ने र झडपका घटना हुन सक्ने भन्दै उच्च सुरक्षा निगरानीमा राखेको हो । ती स्थानमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ।

यो समाचार राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्