नुवाकोटमा कोरोना खोप लगाउने लक्ष्यभन्दा आधा कम



नुवाकोट, फागुन १२ । नुवाकोटमा लक्षित समूहमध्ये अग्रपङ्क्तिमा सेवा प्रवाहमा कार्यरत आधाभन्दा कमले मात्र कोरोना खोप लगाएका छन् । जिल्लाभर दुई समूहमा संचालित खोप कार्यक्रममा ३ हजार ८ सय ८६ जनाले कोरोना खोप लगाएका हुन। यद्यपि कोरोना विरुद्ध खोप लगाउन नाम सूचीकृत गर्नेको संख्या भने ८ हजार ७९ जना रहेको स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकृत उत्तमराज खनालले जानकारी दिए ।

दोस्रो चरणको खोप कार्यक्रम सोमबार सम्पन्न भएको हो । फागुन २ देखि शुरु भएको दोस्रो चरणको लागि ६ गतेसम्म तोकिएको भए पनि लक्ष्यभन्दा निकै कमले सहभागिता जनाएसगैँ ८ गतेसम्म समय थप गरिएको कार्यालयले जनाएको छ ।

नाम दर्ता गराएको लक्ष्यभन्दा आधाभन्दा कमले मात्रै खोप लगाउनुका कारण खोप लगाउँदा तोकिएको मापदण्ड (दीर्घरोग सम्बन्धी औषधि सेवनकर्ता, कोरोनाको सक्रिय सङ्क्रमित, गर्भवती तथा स्तनपान गराउँदै आएका सुत्केरीलाई नहुने) अनुसार नाम दर्ता गराउने धेरै र सेवा लिनेको सङ्ख्या कम देखिएको हुनसक्ने स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागरप्रसाद घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहोस्