सरकारको असहयोगले ‘डाइभर्ट’ हुँदै पर्यटक



काठमाडौं,फागुन १३ । पर्यटकीय गतिविधि ठप्पप्रायः रहेको १ वर्षसम्ममा पनि सरकारले लागू गरेका स्वास्थ्य मापदण्डमा परिमार्जन नहुँदा नेपाल आउने पर्वतारोही तथा पर्यटक अन्य गन्तव्यमा ‘डाइभर्ट’ हुन थालेका छन् । पर्वतारोहण तथा ट्रेकिङमा आउने विदेशी पर्यटकले गन्तव्य नै परिवर्तन गर्दा नेपाली टुर तथा ट्राभल्स अपरेटरहरू अत्तालिन थालेका छन् । पर्यटकले गन्तव्य परिवर्तन गर्न थालेको एक उदाहरण पाकिस्तानको केटु हिमाल आरोहण हो । पाकिस्तानमा रहेका हिमाल आरोहण समर सिजनमा मात्रै हुँदै आएकोमा अहिले त्यहाँको सरकारले पर्यटक प्रवेशमा खुकुलो नीति कार्यान्वयनमा ल्याएको छ । सोही कारण स्प्रिङ र अटम सिजनमा समेत पर्यटक तथा पर्वतारोही जान थालेका छन् ।

नेपालले भने कम्तीमा १० दिनसम्म क्वारेन्टाइन बस्नैपर्ने प्रावधान राखेकाले पर्यटक यहाँ आउन निरुत्साहित भएको पर्वतारोहण तथा ट्रेकिङ व्यवसाय गर्दै आएका व्यवसायी बताउँछन् ।

सातोरी एड्भेन्चर्स प्रालिका प्रबन्ध निर्देशक ऋषि भण्डारी सरकारी निकाय, अध्यागमन विभाग र कूटनीतिक नियोगको समेत आआप्mनै नीति हुँदा झनै समस्या भएको बताउँछन् । ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अध्यागमन विभागले कम्तीमा १० दिनसम्म क्वारेन्टाइन बस्नुपर्छ भन्छ,’ उनले भने, ‘यसैगरी पर्यटन मन्त्रालय र कूटनीतिक नियोगहरूले छुट्टै नियम लागू गराउँदा झनै अन्योल भएको छ ।’

नेपालमा विदेशी आएर घुम्नेबस्ने अवधि ७ देखि १० दिन हो । पर्यटकहरू क्वारेन्टाइनमा बस्न मात्रै नेपाल नआउने टिप्पणी गर्दै उनले भने, ‘कुनै पनि हिउँदमा पाकिस्तानमा हिमाल आरोहण गर्न जाने अवस्था यसअघि थिएन । तर, अहिले हिउँदमा पनि हिमाल आरोहण भएकाले अबका अन्य सिजनमा पनि सहज प्रवेश हुने हुँदा पर्यटकहरू त्यतातिर डाइभर्ट हुने सम्भावना अधिक छ ।’

अहिले पर्यटनका कुनै पनि क्षेत्रमा पर्यटकको आगमन राम्रो नभए पनि अमेरिकी, भारतीय र चिनियाँ पर्यटक सगरमाथा, अन्नपूर्ण, ल्होत्से, मकालुजस्ता हिमाल आरोहणको तयारीमा छन् । अहिलेको आकलनअनुसार सगरमाथामा मात्रै २०० देखि ३०० सम्म आरोही हुने अनुमान गरिएको भण्डारीले बताए ।

नेपालमा मात्रै नभई कतिपय देशले यात्रा नै रोकेकाले अहिले नेपाल सरकारलाई मात्रै दोष दिने अवस्थासमेत नभएको उनको भनाइ छ । यद्यपि १ वर्षदेखि पर्यटन क्षेत्र ठप्प नै हुँदा नयाँ र वैकल्पिक ढंगबाट पर्यटक आगमन सरलीकरण र सहजीकरण गर्न कुनै कदम नचाल्दा समस्या भएको उनले बताए ।

एक्स्पिडिशन हिमालय प्रालिका प्रबन्ध निर्देशक नवीन त्रिताल पनि सरकारको असहयोगका कारण ‘न्यू नर्मल’को अवस्थामा पनि पर्यटक भित्र्याउन नसकिएको बताउँछन् । ‘अहिले यूरोप, अस्ट्रेलिया, न्यूजील्यान्डजस्ता देशले यात्रामा प्रतिबन्ध नै लगाएका छन्,’ उनले भने, ‘अर्काेतर्फ नेपालका ठूला पर्यटन बजार भारत र चीनबाट पर्यटक भित्र्याउने विषयमा सरकारले उचित रूपमा सोच्न सकेको छैन, स्पष्ट नीति पनि छैन ।’ यी कारणले अहिले बिजनेश हुन सक्ने अवस्था नभएको उनको भनाइ छ ।

उनका अनुसार नेपाल आउने पर्यटक पनि डाइभर्ट भएर दुबई, माल्दिभ्सलगायत अन्य देशमा गइरहेका छन् । जुन देशमा पहिला खुला गरियो, त्यहीँ पर्यटक जाने भन्दै उनले आउन चाहने पर्यटक पनि क्वारेन्टाइनकै हच्किएको दाबी गरे । यद्यपि केही मात्रामा भए पनि पर्वतारोहणमा पर्यटक आउने सम्भावना यथावत् रहेको उनको भनाइ छ । अहिले केही टुर एन्ड ट्राभल कम्पनीहरूमा बुकिङ भइरहेकाले पर्वतारोहणमा सुखद संकेत देखिन थालेकोे उनले बताए । ‘अहिलेको मुख्य समस्या नै क्वारेन्टाइन हो, यसलाई फुकुवा गरिए विदेशीहरू घुम्न आइहाल्ने अवस्था छ,’ उनले भने । अहिले ७ तथा १० दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने प्रावधान सकभर हटाउने, नभए ५ दिन कायम गरेर भए पनि बाँकी दिनमा नेपाल घुमाउन सकिने टुर एन्ड ट्राभल्स अपरेटरहरू बताउँछन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारी भने तत्काल क्वारेन्टाइनको व्यवस्था हट्ने सम्भावना नभएको बताउँछन् । मन्त्रालयको धारणा पनि अब क्वारेन्टाइन जस्ता व्यवस्था खुकुलो बनाउने रहे पनि विभिन्न देशमा नयाँ कोभिड देखिएको र कोभिडविरुद्धको खोप उपलब्ध भएका देशमा पनि प्रतिबन्ध लगाइएकाले ‘पर्ख र हेर’को अवस्था रहेको उनले बताए ।

स्वास्थ्य मापदण्डलाई कम्तीमा पालना हुनेगरी परिमार्जन गर्नुपर्ने, कोभिड भ्याक्सिन लगाएकालाई निर्बाध रूपमा आवतजावत गर्न दिनुपर्ने, पीसीआर नेगेटिभ आइसकेपछि नेपालमा आउँदा पुनः जाँचबाट पनि नेगेटिभ आएमा क्वारेन्टाइन नबसी घुम्न अनुमति दिनुपर्ने व्यवस्था गर्न पर्यटन सम्बद्ध व्यवसायीले सुझाएका छन् ।

यो समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्