छहरे महोत्सव तयारी पुरा, काङ्ग्रेस नेता महत र लामाले भोलि उद्घाटन गर्ने



नुवाकोट,फागुन १३ । नुवाकोटको लिखु गाउँपालिकामा हुने प्रथम ‘छहरे महोत्सव तथा व्यापार मेला २०७७’ तयारी पुरा भएको छ। महोत्सव तयारी पूरा भएको र छहरे बजार आसपास क्षेत्र दुलही झैं सिंगारिएको महोत्सव संयोजक सानु केसीले बताए।

भोलिदेखि सुरु हुने महोत्सवको नेपाली काङ्ग्रेस सहमहामन्त्री एवम् पूर्वमन्त्री प्रकाश शरण महत र नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य तथा नुवाकोट प्रतिनिधिसभा सदस्य बहादुरसिंह लामाले संयुक्तरुपमा उद्घाटन गरिने कार्यक्रम आयोजक लिखु गाउँपालिकाले जनाएको छ। समग्र नुवाकोट जिल्लाको पर्यटकीय विकास, आन्तरिक व्यापार, लोककला,संस्कृतिको संरक्षण’ भन्ने नाराका साथ छहरेनजिकै थान्सिङ फाट्को लिखु बगरमा हुने महोत्सव फागुन १४ गतेदेखि २२ गतेसम्म हुनेछ ।

आयोजकले महोत्सवको गेट, मञ्च,स्टल निर्माण, मेला व्यवस्थापन लगायत मनोरञ्जन तथा बाल उद्यान, झाँक्रीको तयारी समेत गरिसकिएको बताएको छ । महोत्सवमा एक सय ५० स्टल रहनेछन् । महोत्सव अवधिभरका लागि विशेष सुरक्षाको तयारी गरिएको छ । झन्डै दुई लाख दर्शकले अवलोकन गर्नेअपेक्षा राखिएको सो महोत्सवमा गीत–सङ्गीत क्षेत्रको नयाँ कलाकारको आकर्षण बढाउन महोत्सव अवधिभर आयोजना गरिने ‘नुवाकोट तारा– २०७७ प्रतियोगिता’ को समेत मुख्य आकर्षण रहनेछ ।

ख्यातिप्राप्त कलाकारको उपस्थिति

महोत्सव अवधिमा लोक तथा दोहोरी क्षेत्रका ख्यातिप्राप्त कलाकारले दर्शकमाझ मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गर्नेछन् । सो अवधिमा गायक/गायिका समीक्षा अधिकारी,प्रतिमा अर्याल,रविन लामिछाने,नेत्र भण्डारी,डिला बि क,चन्द्र शर्मा,टीका सानू,उद्दव कार्की,स्मृति गाैतम,मिना बुढाथोकी,प्रनिस तामाङको उपस्थिति रहनेछ।

त्यस्तै चर्चित गायक सराेज लामिछाने,जिक्री,पाँडे,अमृतावलुङ्गेली,बबिता बानियाँ,रमेशराज भट्टराई,बिमलराज क्षेत्री,पुर्खे बा,पशुपति शर्मा,राधिका हमाल,अमृत खाती,उमा श्रेष्ठ,प्रदिप राेक्का,अमृता लामिछाने,मदन थापा,कुशल बेलवासे,सीता खपाङ्गी मगर,रेशम थापा,इन्दिरा गुरुङ,बद्री पंगेनी,प्रिति आले,नवराज घाेरासैनी,करण लामा,दिनेश लामा लगायत चर्चित कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्