‘छहरे महोत्सव’ले समग्र नुवाकोटको झल्को दिनेछ- सानु केसी, संयोजक छहरे महोत्सव



नुवाकोटको लिखु गाउँपालिकाको थान्सिङमा भोलि शुक्रबारदेखि प्रथम ‘छहरे महोत्सव तथा व्यापार मेला २०७७’ सुरु हुने भएको छ। महोत्सवको उद्घाटन नेपाली कांग्रेसका सहमहामन्त्रि डा. प्रकाशशरण महतले गर्ने महोत्सव आयोजक लिखु गाउँपालिकाले जनाएको छ। प्रस्तुत छ महोत्सवको उदेश्य, तयारी र ब्यवस्थापनका विषयमा महोत्सव संयोजक सानू केसीसंग साझापथ डटकमले गरेको कुराकानीको सम्पादित अंश

• महोत्सवको तयारी कस्तो छ?

महोत्सव को तयारी लगभग लगभग अन्तिम चरणमा पुगेको छ । हामीले निर्माण भएका स्टलदेखि यसका ब्यवस्थापनको पाटोलाई निरीक्षण गर्दैछौ। दर्शकलाई कसरी सेवा सुविधापुर्वक मनोरञ्जन दिन सकिन्छ,त्यसबारेमा मिटिङ मार्फत थप तयारी जुटिरहेका छौं।

• महोत्सवको नाम ‘छहरे महोत्सव’ नै कसरी जुर्यो होला ?

हामीले महोत्सव गर्दै गर्दा स्थानीय व्यक्तित्वहरुको पनि सल्लाह सुझाव संकलन गरेका थियौ। यस ठाँउको परिचित स्थान छहरे बजार भएकाले र सवारीसाधन पहुँचका हिसाबले पनि छहरे उपयुक्त भएकाले यस स्थानलाई छनौट गरेका हौं। स्थान उपयुक्तताको हिसाबले पनि छहरे महोत्सव नामकरण गरिएको हो।

• ग्रामीण क्षेत्र त्यसमाथि पनि कृषि उर्वर क्षेत्र छहरे थान्सिङमा महोत्सव हुँदैछ,कृषि उपज खरिद बिक्रीको व्यवस्थापन चाहिँ छ कि छैन?

यस महोत्सवमा सम्भावना भएजतिका सबै स्थानीय उत्पादन र महत्त्वका कुराहरूलाई प्राथमिकता दिएका छौं । यहाँ उत्पादित आलु,धान,चामल साथै त्यस्का बिउबिजन प्रवर्द्धनलाई महत्त्व नदिने कुरै भएन।यहाँको स्थानीय किसानको कुराहरु र किसानका चासोका विषयलाई पनि महोत्सवले महत्त्वका साथ अगाडि बढाएको छ। छहरे महोत्सवले समग्र नुवाकोटको झल्को दिनेमा दुई मत छैन ।

• महोत्सवको उदेश्य के कस्ता रहेका छन् ?

हाम्रो महाेत्सवकाे उदेश्य भनेको विभिन्न क्षेत्रबाट भित्रने आम दर्शक/नागरिक तथा पाहुनाहरुलाई यहाँको कला संस्कृति लगायत विभिन्न लाेप भएका झाँकी हरुलाई सबैमाझ उजागर गरेर यहाँको धार्मिक,सास्कृतिक,ऐतिहासिक विषयवस्तुको पहिचान गराउनु नै हाम्रो उपलब्धि मानेका छौँ ।

• महोत्सवमा हुने सास्कृतिक कार्यक्रम के कस्तो रहनेछ?के कस्ता कलाकार देख्न पाउनेछ्न आम दर्शकले?

हाम्रो कार्यक्रममा सुरुमा लोक दोहोरी प्रतियोगिता हुनेछ भने दाेस्राे चरणमा चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरुकाे प्रस्तुति रहनेछ , सिने तथा हास्यजगतका कलाकार मार्फत पनि आमदर्शकलाई प्रचुर मनोरञ्जन दिलाउन कोशिश गरेका छौं । लोकदोहोरी क्षेत्रमा ख्याति कमाएका कलाकारहरुमा समीक्षा अधिकारी,प्रतिमा अर्याल,रविन लामिछाने,नेत्र भण्डारी,डिला बि क,चन्द्र शर्मा,टीका सानू,उद्दव कार्की,स्मृति गाैतम,मिना बुढाथोकी,प्रनिस तामाङ लगायतका कलाकारले मनोरञ्जन दिनेछन् त्यस्तै सराेज लामिछाने,जिक्री,पाँडे,अमृता लुङ्गेली,बबिता बानिया,रमेश राज भट्टराई,बिमलराज क्षेत्री,पुर्खे बा,पशुपति शर्मा,राधिका हमाल,अमृत खाती,उमा श्रेष्ठ,प्रदिप राेक्का,अमृता लामिछाने,मदन थापा,कुशल बेलवासे,सीता खपाङ्गी मगर,रेशम थापा इन्दिरा गुरुङ,बद्री पंगेनी,प्रिति अाले नवराज घाेरासैनी,करण लामा दिनेश लामा लगायतका कलाकारको पनि उपस्थिति रहनेछन्। दर्शक निराश होइन उत्साहित बनाउने हाम्रो योजना छ।

• तपाईंले भनेजस्तै सबैको रुचिकर र सहभागिता जनाउन महोत्सवको थप आकर्षण चाहिँ केके छन् ?

सर्व प्रथम त याे गहकिलो प्रश्नको लागि धन्यवाद। हामी इच्छुक दर्शकलाई हेलिकप्टर बाट गाेसाइकुण्ड दर्शन पनि सुलभ मूल्य १५ हजारमै आवातजावत गराउने व्यवस्था गरेका छौं। हेलिकप्टरमै चढेर जिल्लाको महत्त्वपूर्ण/ऐतिहासिक क्षेत्र नुवाकोट दरबार क्षेत्रमा भ्रमण गराउने योजना समेत तय गरेका छौं । त्यतिमात्र होइन जिल्लाकै अर्को पर्यटकीय क्षेत्र सुइँरे चौर हुँदै महोत्सव स्थलसम्म प्याराग्लाईडिङको अवसर समेत आम दर्शकलाई प्रदान गर्नेछौं । त्यस्तै विभिन्न खेलहरु, राेटे पिङ , झुला पिङदेखि लिएर विभिन्न संस्कृतिक तथा हास्य प्रस्तुतिले गर्दा दर्शककाे मन पक्कै पनि जित्नेछ भन्नेमा म विश्वस्त छु।

• स्टल ब्यवस्थापन कसरी गर्नुभएको छ?स्थानीय ब्यापारीको सहभागिता कम रह्यो भन्छन् नि,कुरा के हो?

हामीले स्टल व्यबस्थापनमा सकेसम्म स्थानिय व्यबसायीलाई नै बिशेष प्राथमिकता दिएका छाै,यहाँका लोकल खाना,यहाँ उत्पादित तरकारी,दुग्धजन्य पदार्थको प्रदर्शनी तथा वितरणका स्टल समेत अगाडि बढाइएको छ। बाँकी हल्ला मात्रै हुन किनभने राम्रो काम हुँदा पनि कुरा काट्ने मान्छे त हुन्छन् नि।

• महोत्सवमा के कति मानिसले अवलोकन गर्ने लक्ष्य छ?टिकट व्यवस्थापन कतिको चुस्त छ?फाइदा वा घाटाको जिम्मा कस्लाई हुन्छ?

हाम्रो याेजना एक दिनमा कम्तीमा पनि बीस हजार दर्शकलाई अवलाेकन गराउने उदेश्य छ। टिकट सम्पूर्ण बर्गलाइ सजिलै समेट्न सकिने तरिकाले व्यबस्थापन गरेका छाै। फाइदा र घाटा त काम गरेपछि जे भए पनि हामीले स्विकार्नै पर्छ। हामीले टिकटको दर रु ५०/- ताेकेका छाैँ जुन जाे सुकैले स्विकार्ने छन् भन्ने अपेक्षा छ । संस्थागत मा चाहिँ बिध्यार्थी र पाँच बर्ष मुनिकालाई केही छुटकाे व्यबस्था गर्ने कुरा भएको छ जस्काे बारेमा छलफल भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्